साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड

 जेठ २९, २०८० सोमबार १२:२:१५ | एजेन्सी
unn.prixa.net

साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन् जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरेबियाकाे गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ । उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतवार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष ‘आतङ्कवाद’ का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ ।

गएकाे महिना साउदी अरेबियाले दुई जना बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो ।

साउदी अरेबिया विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने देशमध्ये एक हो । गएकाे वर्ष साउदी अरेबियामा आतङ्कवादसँग सम्बन्धित अपराधमा एक सय ४७ जनालाई मृत्युदण्ड दिइएको थियो जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गरेको थियो ।

सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजार जनाभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतमा रहेकाे रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया