जर्मनी र बेलायतले युक्रेनलाई दिएका लडाकु ट्याङ्क र गाडी कब्जा गरेको रुसको दाबी

 जेठ ३०, २०८० मंगलबार १८:२२:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले जर्मनी र बेलायतले युक्रेनलाई दिएका अत्याधुनिक लडाकु ट्याङ्क र बख्तरबन्द गाडी कब्जा गरेको दाबी गरेको छ । 

जापोरिजियामा युक्रेनी सेनासँगको लडाइँका क्रममा जर्मनीले दिएको लियोपार्ड ट्याङ्क र अमेरिकामा निर्मित ब्राडली इन्फन्ट्री ब्रान्डका बख्तरबन्द गाडीहरू कब्जा गरेको रुसले जनाएको छ । ट्याङ्क र गाडी कब्जा गरिएको भिडियो रुसको रक्षा मन्त्रालयले मेसेजिङ एप टेलिग्राममा पोस्ट गरेको छ । 

रुसले कब्जा गरिएका ट्याङ्क र गाडीलाई आफ्नो जितको ट्रफी र युक्रेनसँगै उसलाई सहयोग गर्ने पश्चिमा देशको हारका रूपमा व्याख्या गरेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । युक्रेनले आफ्ना सहयोगीहरूलाई रुसले कब्जा गरेको क्षेत्र पुन प्राप्तिका लागि थप हतियार सहयोगका लागि आग्रह गरिरहेको छ । 

यसैबीच जर्मनीले युक्रेन युद्धमा रुसले कब्जा गरेको र ध्वस्त बनाएको बदलामा थप ट्याङ्क र हतियार पठाउन नसक्ने जनाएको छ । जर्मनीको रक्षा मन्त्रालयले युक्रेनलाई सहयोग गरेकामध्ये कतिपय ट्याङ्क ध्वस्त भएका र कतिपय रुसले कब्जा गरेको हुन सक्ने स्वीकार गर्दै त्यस्तै थप हतियार पठाउन नसक्ने उल्लेख गरेको छ । आफ्नो देशले दिएका हतियार रुसले कब्जा गर्नु दुःखद भएको पनि जर्मनीको भनाइ छ । 

गए राति रुसले युक्रेनको क्रिइभी रिहमा गरेको मिसाइल हमलामा परि ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आज बिहानसम्म छ जनाको ज्यान गएको पुष्टि भएकोमा अहिले थप चार जनाको शव भेटिएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मिसाइल हमलामा २८ जना गम्भीर घाइते भएका छन् ।

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया