‘तपाईँ १८ वर्ष पुग्नुभयो ? जन्मदिनमा रक्तदान गर्नुभयो ?’

 जेठ ३२, २०८० बिहीबार ८:१४:२६ | रासस
unn.prixa.net

फाइल तस्बिर

भक्तपुर - १८ वर्ष उमेर पुगेका  किशोर किशोरीलाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले भक्तपुरमा हिजाेदेखि अभियान सुरु गरिएको छ । भक्तपुरमा हिजाेदेखि ‘प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियान सुरु भएकाे हाे ।

विश्व रक्तदाता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाजले संयुक्तरूपमा साइकल र्‍याली, रक्तदान तथा विविध कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । हिजाे विशेष रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका १८ किशोरकिशोरीले पहिलो पटक रक्तदान गरेर अभियानकाे सुरु गरेका नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुरका अध्यक्ष सुमित बालाले जानकारी दिनुभयो । कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए। उहाँका अनुसार प्रत्येक १८ वर्ष उमेर पुगेका किशोरकिशोरीले आफ्नो जन्मदिनको दिनमा रक्तदान गर्न प्रेरणा दिन अभियान सुरु गरिएको हो ।

एक स्वस्थ व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्नसक्ने भएकाले युवा युवतीलाई रक्तदानमा आकर्षित गरे नेपालमै रगतको अभाव नहुने उहाँले बताउनु भयाे ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले अब आफूले मात्र होइन अरुलाई पनि रक्तदान गर्न अभिप्रेरित गरौँ भन्ने सन्देश देशभरि फैलाउनुपर्ने बताउनुभयो। 

रेडक्रस सोसाइटी भक्तपुर शाखाले अहिलेसम्म २९ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरेको र ५१ हजार पिन्टभन्दा बढी रगत वितरण गरेको उहाँले बताउनु भयाे । 

'रगत नपाए भक्तपुर जानू' भन्ने अभियानलाई अहिलेसम्म पूरा गर्दै आएको बताउँदै उहाँले रगतको माग अत्यधिक रहेको तर सङ्कलन कम रहेकाले यो अभियानलाई शतप्रतिशत उपलब्धिमा पुर्‍याउन प्रयास गरिरहेको बताउनु भयाे ।

उहाँले अहिले काठमाण्डाै उपत्यकाका तीन जिल्लासँगै धादिङ, नुवाकोट, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पशुपतिको माडवारी सेवा समितिबाट पनि रगत सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।

बिरामीका लागि चिकित्सकले रगत आवश्यक छ भनेर लेखिदिनेबित्तिकै ठूलो तनावको अवस्था आउने भएकाले त्यस्तो तनाव नलिइ भक्तपुरमा आउन उहाँकाे आग्रह छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया