पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बैतडी – बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउद पेसाले शिक्षक हुनुहुन्छ । उहाँ स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउनुहुन्छ । साउदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ ।
गाउँमा उहाँ ‘नमुना कृषक’का नामले पनि चिनिँदै आउनुभएको छ । साउदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दैै आउनुभएको हो । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आउनुभएका साउदले वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ ।
साउदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले सबैको मन लोभ्याउने गरेको छ ।
साउदले भन्नुभयो, 'पेसाले शिक्षक भए पनि विद्यालयपछिको समयमा तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक चार लाख रूपैयाँ कमाउने गरेको छु ।' उहाँले गोलभेँडा, बन्दा, बोडी, अदुवा, बेसारलगायत खेती पनि गर्दै आएको बताउनुभयो । उहाँका अनुसार पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी तरकारी गरिएको छ । उहाँले भन्नुभयो, 'गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गर्दै आएको छ । यसले गर्दा सहज भएको छ ।'
सरकारी खेतीबाट पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको साउदको भनाइ छ । 'शिक्षकको तलबबाट मात्रै घरपरिवार पाल्न असहज हुन थालेपछि तरकारी खेती गर्न थालेको हुँ । अहिले छोरालाई स्नातक पढाउन काठमाण्डौ पठाएको छु', उहाँले भन्नुभयो । तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उहाँको भनाइ थियो ।
साउदले भन्नुभयो, 'गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ ।' सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजार अभाव, यातायात सेवा सहज नहुँदा बजारीकरणमा केही समस्या हुने गरेको उहाँले बताउनुभयो ।
सिचाइँ सुविधा, बजार र यातायातको सहज सुविधा भए तरकारी खेती गर्न अझै सहज हुने साउदले बताउनुभयो । उहाँले भन्नुभयो, 'सिँचाइ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन ।'
बारीसम्म सडक विस्तार नभएकाले डोकोमा बोकेर सुल्लेखान उत्पादन भउका तरकारी पुर्याउनुपर्ने बाध्यता रहेको साउदको भनाइ छ । उहाँले भन्नुभयो, 'सडक नहुँदा डोकोमा बोकेर सुल्लेखानसम्म पुर्याउनुपर्दछ, बाह्रै महिना सञ्चालन हुने गरी सडक विस्तार भए अझै सहज हुने थियो ।' कहिलेकाहीँ उत्पादित तरकारीले बजार नपाउँदा समस्या हुने गरेको साउदले बताउनुभयो । उहाँले भन्नुभयो, 'मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन ।'
शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा यस क्षेत्रमा सडक अवरुद्ध हुँदा निकै सास्ती हुने गरेको साउदले जानकारी दिनुभयो ।
तरकारी खेती आबद्ध किसानलाई व्यावसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताउनुभयो । 'यस वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई निःशुल्क विषादी दिएका छौँ', उहाँले भन्नुभयो, '९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन सङ्कलन भएको छ ।'
कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो, 'कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यावसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौँ ।'
आउँदाे वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउदले जानकारी दिनुभयो । गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।