बाढीले दुई वटा विद्युतगृह बगाएपछि ताप्लेजुङको याम्फुदिनमा अन्धकार

 असार २, २०८० शनिबार १८:३७:२२ | रासस
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ - वर्षासँगै आएको बाढीले ताप्लेजुङको पूर्व क्षेत्रमा पर्ने सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनको विद्युतगृह बगाएपछि गाउँ नै अन्धकार भएको छ । शुक्रवार अस्ति राति परेको वर्षासँगै आएकाे बाढीले दुई वटा विद्युतगृह बगाएपछि याम्फुदिन पूरै अन्धकार भएको हो ।

तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको पावरहाउस (विद्युतगृह) बाढीले बगाएको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभयो । गुरुङका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको विद्युतगृहमा समेत क्षति पुगेकाले अहिले याम्फुदिनमा बिजुली छैन ।

याम्फुदिनमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन् । शुक्रवार दुईवटा विद्युतगृह बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदिन प्रहरी चौकीका इन्चार्ज प्रहरी हवलदार विनोद उरावले बताउनुभयो।

विद्युतगृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । विद्युतगृह बाढीले बगाएपछि पावर आपूर्ति नहुँदा याम्फुदिनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

याम्फुदिनमा रहेको पाँच वटा कार्यालय र पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएकाे छ । काबेली खोलामा वर्षासँगै आएको बाढी कारण उच्च जोखिममा रहेको कार्यालय र घरपरिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो । 

सिरिजङ्गा गाउँपालिका–८ का वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्यचौकी, विद्यालय र कञ्चनजङ्गा संरक्षण क्षेत्रको कार्यालयलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । त्यस्तै उच्च जोखिम पाँच घरपरिवारलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको चोम्जोङले बताउनुभयो ।

सिदिङवा गाउँपालिका–७ सुरुङखिम क्षेत्रमा बुधवार बेलुकादेखि निरन्तर वर्षा भएकाले खोेला तर्न सकिने अवस्था छैन । बाटो सबै अवरुद्ध भएसँगै गाउँदेखि सुदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै रोकिएका सिदिङवा गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कँडरियाले बताउनुभयो । गएकाे हप्तामात्र तावाखोलामा उद्घाटन गरेको मोटरेबल पुलको एक साइडको पिलर बगाएसँगै गाडी आवतजावत ठप्प भएको उपाध्यक्ष कडरियाले बताउनुभयो । धेरै क्षेत्रमा अलैँची बगानसमेत क्षति पुगेको छ ।

बुधवार बेलुकादेखिको वर्षाले बाटो अवरुद्ध हुँदा सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका विद्यालय बन्द गरिएको छ । बालबालिका आउने बाटो भत्किएपछि  विद्यालय बन्द भएको हो । 

'विद्यार्थी आउने बाटो अवरुद्ध भएका छन्, खोला तर्न सकिने अवस्था छैन' प्रधानाध्यापक यज्ञमणि पौडेलले भन्नुभयो । सिदिङवा–१ का वडासदस्य राजकुमार इम्वुङले बिहीवारदेखि अहिलेसम्म एक क्षेत्रबाट अर्को ठाउँमा जान कठिन भएकाे बताउनु भयाे । 

सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले सडक अवरुद्ध भएपछि झापाको बिर्तामोड र ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जाने दुईवटा जीप रोकिएका बताउनु भएकाे छ । अब वर्षा रोकिएर खोला नघटेसम्म ती गाडी गाउँबाट निकाल्ने उपाय नभएको राईले बताउनुभयो । सिदिङ्वा र सिरिजङ्गामा गएकाे वर्ष बाढी पहिराेबाट मानवीय तथा भौतिक क्षति भएकाे थियाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया