कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाडौं – यो वर्षको मनसुन शुक्रबार पूर्वी भागबाट नेपाल प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर सक्रिय हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा सामान्यतया जेठको अन्तिम साता अर्थात् जुन १० मा मनसुन भित्रिने गर्दछ । यो वर्ष सामान्यतया दुई दिन अघि नै मनसुन नेपाल प्रवेश गरेको छ ।गएका वर्षहरुमा केही दिन ढिलो गरी भित्रिएको मनसुन यो वर्ष केही दिन छिटै प्रवेश गरेको हो ।गएको वर्ष जुन १३ मा मनसुन नेपालमा प्रवेश गरेको थियो ।
‘पूर्वी नेपालबाट मनसुन भित्रिसकेको छ,’ महाशाखाका मौसमविद् मञ्जु वासीले भन्नुभयो, ‘यो मनसुनी वायु सुदूर पश्चिमसम्म पुग्नलाई अझै एक साता जति लाग्छ ।’ नेपालमा मनसुनी वायु प्रवेश गरे पनि अहिले वर्षाको प्रणाली त्यति सक्रिय भएको छैन । वासीले भन्नुभयो, ‘अहिले हल्का मात्र मनसुनी वायुको प्रभाव पूर्वी भूभागमा देखिएको छ । केहीदिन भित्रमा देशभर मनसुन सक्रिय भई वर्षा हुन्छ ।’
यो वर्ष पनि औसत वर्षा हुने मौसमविद्हरुले अनुमान गरेका छन् । सामान्यतया नेपालमा वर्षभरिमा हुने वर्षाका ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने गर्दछ । नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुनी अवधि मानिन्छ ।
प्रत्येक वर्ष नेपालमा बंगालको खाडीबाट आएको मनसुनी वायुले वर्षा हुने गर्दछ । जुन हिन्द महासागरको दक्षिण गोलार्द्धबाट उत्पन्न भएर आउने हो । मौसमविदका अनुसार मनसुनी वायु दक्षिणी गोलार्द्धबाट अफ्रिका महादेशको पूर्वी किनार हुँदै भारतको केरला आइपुग्छ । त्यहाँदेखि एक भाग छुट्टिएर उत्तरपश्चिम भारत र पाकिस्तानतिर जान्छ ।
आधा वायु भारतीय भूमि पार गर्दै बंगालको खाडीमा आइपुग्छ र बंगालको खाडीमा बनेको प्रणालीले त्यसमा पानीको मात्रा बढाउँछ । बंगालको खाडीबाट आधा मनसुनी वायु म्यानमारतर्फ जान्छ भने आधा पूर्वी नेपाल हुँदै देशभर फैलन्छ । यो मनसुनी चक्र हरेक वर्ष यसरी नै हुने गर्दछ ।
मनसुन पूर्वानुमान गर्दा वायुको चाप, आद्रता, वायुको गति, बादलको मात्रा लगायत कुरा समेटिन्छन् । यसरी गणितीय हिसाब गरेर मौसम पूर्वानुमान गर्दा निश्चित ठाउँको सिस्टम अर्काे निश्चित ठाउँमा कति समयमा पुग्छ र त्यहाँ पुगेपछि के हुन्छ भनेर विश्लेषण गरी मौसम पूर्वानुमान गर्ने मौसमविदहरुको भनाई छ । गणितीय मौसम प्रणालीले पछिल्लो समय पूर्वानुमान धेरै मिल्दै आइरहेको मौसमविदहरुको दावी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।