चितवन राष्ट्रिय निकुञ्जमा अहिलेसम्मकै धेरै पर्यटक, १७ करोड ३० लाख रुपैयाँ राजश्व सङ्कलन

 असार ८, २०८० शुक्रबार १८:५९:२१ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन - चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सबैभन्दा बढी पर्यटक यस वर्ष भित्रिएका छन् । विगतका वर्षमा विदेशी पर्यटक धेरै हुने भए पनि यस वर्ष भित्रिएका धेरै पर्यटक नेपाली हुन् ।

जिल्लामा निकुञ्ज भित्रिएका पर्यटकको मात्रै तथ्याङ्क राखिने हुँदा सङ्ख्या कम देखिने गर्दछ । पर्यटनविद्हरुले गरेको अध्ययनले भने जिल्लामा वार्षिक सात लाख जनाभन्दा बढी पर्यटक भित्रिने गरेको देखाएको छ।

निकुञ्जमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक भित्रिएका छन् । यीमध्ये एक लाख ९८ हजार आठ सय २६ नेपाली, ३५ हजार आठ सय ८६ सार्क देशका र २९ हजार पाँच सय ७६ विदेशी पर्यटक रहेका छन् । त्यसबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यसअघि आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार चार सय १३ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आव २०७५/७६ मा एक लाख ८७ हजार एक सय नौ पर्यटक निकुञ्ज घुमेका थिए । 

यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । याे आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व रुपैयाँ सङ्कलन भएको छ ।

तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । यसबाट दुई लाख एक हजार चार सय २१ राजस्व रुपैयाँ सङ्कलन भएको थियो ।

आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० रुपैयाँ अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले  एक सय ५०, सार्क देशकाले एक हजार र अन्य देशकाले दुई हजार रुपैयाँ रुपैयाँ राजस्व बुझाउँछन् ।

भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा विश्व सुवेदीले जिल्ला भित्रिने सबै पर्यटक निकुञ्ज नजाने बताउनुभयो । एक अध्ययन गर्दा सौराहा आएका पर्यटकमध्ये ४० प्रतिशत निकुञ्ज नछिरेको भेटिएको थियो । पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पनि उस्तै उस्तै अवस्था छ । भरतपुरका होटलहरुमा बस्नेहरु कम मात्रै निकुञ्ज छिर्छन् ।

देवघाटधाममा आउने धार्मिक पर्यटक निकुञ्ज कम मात्रै जान्छन् । उहाँले भन्नुभयो, 'देवघाट आउने भारतीय पर्यटक दैनिक सरदर एक सय हुँदोरहेछ ।' मेलाहरुमा यो सङ्ख्या निकै बढी हुन्छ । सुवेदीले भन्नुभयो, 'यकिन तथ्याङ्क ननिस्किएको भए पनि चितवन जिल्ला प्रवेश गर्ने पर्यटक वार्षिक सात लाख जनाभन्दा बढी हुन्छन् ।' यसका अतिरिक्त स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या अरू बढी छ ।

महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । यस वर्षलाई लक्षित गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाइएको छ । होटलको तथ्याङ्क लिने क्रममा छ । मनकामना दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि १० लाख जनाभन्दा बढी हुने गर्दछ ।

चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट काठमाण्डाै प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत हुन्छन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्छ  । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया