वैदेशिक रोजगारीबाट फर्केका मनोजको बाख्रा पालन : ‘एटीएमले धोका दिन सक्छ तर बाख्राले दिँदैन’

 असार १४, २०८० बिहिबार १५:११:२८ | बेदानन्द जाेशी
unn.prixa.net

महोत्तरीका युवा कृषक मनोज रायलाई फोन गर्दा उहाँको भन्दा पहिले कुखुराको आवाज सुनियो, कुखुरी काँ...। 

मनोजले अलि अप्ठेरो मान्दै भन्नुभयो, ‘कुखुरा पनि पालेको छ के मैले, यीनीहरु कराउन थालेपछि फोनमा बोलेको केही सुनिँदैन ।’ 

वैदेशिक रोजगारीको क्रममा मलेसियामा ९ वर्ष बिताएर सन् २०१८ मा स्वदेश फर्किनुभएका मनोज अहिले आफ्नै गाउँमा कृषि फार्म चलाइरहनुभएको छ । मलेसियाबाट संगै फर्केका मनोजका साथीहरु कोही फेरि वैदेशिक रोजगारीमै गइसके । कोही विदेश जाने कि नेपालमै केही गर्ने भन्ने सोच्दै छन् । तर एकडारा गाउँपालिका–४ का मनोजले दायाँबायाँ केही नसोची बाख्रापालन गर्ने अठोट गर्नुभयो । बाख्रापालनबाट सुरु गर्नुभएको फार्ममा पछिल्लो समयमा कुखुरा पनि थप्नुभएको छ । विभिन्न जातका एक सय २५ बाख्रा र ६० वटा जति स्थानीय कुखुरा छन् उहाँको फार्ममा । 

जिल्लामा युवा कृषि उद्यमी भनेर परिचय बनाउनुभएका मनोजले नेपाल सरकारका तर्फबाट राष्ट्रिय उद्यमीको पुरस्कार पनि पाइसक्नुभएको छ । वैदेशिक रोजगारीदेखि देशमै उद्यमी बन्नसम्मको मनोजको यात्रा यस्तो छ :

धन कमाउन मलेसिया

मनोजलाई पढ्न मन थियो । एसएलसी उत्तीर्ण गर्नुभयो । तर घरको आर्थिक अवस्थाले क्याम्पस पढ्न दिएन । घरको जेठो छोरा । काँधमा जिम्मेवारी थियो । साथीभाइ पनि कमाउनतर्फ लागे । कोही भारत गए, कोही कतै । मनोजको एक हुल साथीले वैदेशिक रोजगारीमा जाने निर्णय गर्यो । ऋण काढेर गाउँकै एक जना एजेण्टलाई एक लाख रुपैयाँ बुझाउनुभयो र पढ्ने रहर हुँदाहुँदै पनि १९ वर्षको कलिलो उमेरमै सन् २००५ मा मनोज मलेसिया पुग्नुभयो । 

मनोज त्यहाँ गएर कपडा उद्योगमा काम गर्न थाल्नुभयो । महिनाको नेपाली चालिस पचास हजार रुपैयाँ कमाइ हुन्थ्यो । विदेश जाँदाको ऋण तिर्नुभयो । घरपरिवारको खर्च धान्नुभयो, भाइबहिनीको पढाइ खर्च बेहोर्नुभयो । यसरी चार वर्ष बितेको पत्तै भएन । त्यसपछि उहाँ सन् २००९ मा नेपाल फर्किनुभयो । परदेशबाट कमाएको पैसाले थोरै जग्गा जोर्नुभयो । बिहे गर्नुभयो । घर बनाउनुभयो । कति चल्थ्यो र परदेशमा कमाएको धन् । आवश्यकताहरु पूरा हुन नपाउँदै फेरि ऋण काढ्नुपर्ने अवस्था आउन थाल्यो । त्यसैमाथि एक सन्तान (छोरा) पनि भयो । मनोजलाई लाग्यो, अब यसरी खर्च धान्न सकिँदैन । केही गर्नुपर्छ । गाउँमा केही अवसर नदेखेपछि फेरि मलेसिया जाने सोच्नुभयो । हुन त श्रीमती छोरा र घरपरिवारसँगै समय बिताउन मन थियो । तर मन मात्रै भएर, धन नभएर नहुँदो रहेछ । सन् २०११ मा मनोज दोस्रोपटक मलेसिया जानुभयो । यसपटक भने उहाँ कपडा उद्योगमा नभइ म्याकडोनाल्डमा जानुभयो । पहिले पनि मलेसियामा लामो समय काम गरेको अनुभव थियो । त्यसैले यसपटक उहाँले सुपरभाइजरको काम पाउनुभयो । काम कमाइ दुवै राम्रो थियो । तर लामो समय अर्काको देशमा काम गरिरहन मन थिएन । कमाइ राम्रो भइरहे पनि मनमा भने बेचैनी थियो । 

अथवा भनौँ उहाँलाई फेरि रोजगारीको लागि परदेशिने मन थिएन । त्यसैले ६ वर्ष दुःख गरेर पैसा कमाउनुभयो । बिहे गर्दा, घर लगाउँदा लागेको सबै ऋण तिर्नुभयो र केही पैसा वचत गरेर सन् २०१८ मा नेपाल फर्किनुभयो । त्यतिबेला नेपाल पर्किँदा मनोजले अब वैदेशिक रोजगारीमा नजाने अठोट गरिसक्नुभएको थियो । नेपालमै केही नयाँ काम गर्ने सोचका साथ फर्किनुभएको थियो उहाँ । 

‘अर्काको काम गर्न मनले मानिरहेको थिएन, घरपरिवारभन्दा टाढा लामो समय भइसकेको थियो’, मनोजलाई त्यो क्षण अहिले पनि सम्झना आउँछ, ‘जिन्दगीभरि कति अर्काकै काम गर्ने, अब आफ्नै केही गर्नुपर्छ भन्ने लाग्यो अनि म नेपाल आएँ ।’ 

बाख्रा पालन गर्छु भन्दा गिज्याए

नेपाल  त आउनुभयो । तर गर्ने के ? मनोजलाई गाउँठाउँमा कसैले नगरेको छुट्टै काम गर्नुपर्छ भन्ने लाग्थ्यो । विदेशबाट फर्किनेमध्ये धेरैले गर्ने पसल तथा होटेल खोलेर बस्न मन लागेन । धेरै ठूलो उद्योग खोल्न पैसा पनि थिएन । गर्ने के त ? मनोजलाई यो प्रश्नले लखेट्न थाल्यो । उहाँ उपाय खोज्न युट्युबतिर हेर्नुहुन्थ्यो । त्यही क्रममा उहाँले बाख्रा पालन गरेका भिडियो हेर्नुभयो । १० वटा बाख्रा पालेकी एक महिलाले वर्षमा ४ खसी बेचेर लाखौँ कमाएको देख्नुभयो । 

त्यसैमा मनोजको दिमाग ‘क्लिक’ भयो, ‘कसैले १० वटा बाख्रा पालेर वर्षमा एक लाख रुपैयाँ कमाउँछ भने म २० वटा बाख्रा पालेर २ लाख रुपैयाँ कमाउन किन नसकुँला भन्ने लाग्यो ।’

त्योभन्दा पहिले मनोजलाई फार्म बनाएर बाख्रा पालिन्छ भन्ने पनि थाहा थिएन । मनोजले आफ्नो गाउँपालिका एकडारामा कतै पनि बाख्रा फर्म देख्नुभएको थिएन । युट्युब हेरेरै थाहा पाउनुभयो । तर समस्या आइलाग्यो घरपरिवारको । बाख्रा पालन गर्ने कुरा गर्दा घरपरिवारका सदस्य सबैले मुख बंग्याए । आरामको काम केही गर्न नसक्ने मान्छेले बाख्रा पाल्ने हो भन्ने थियो गाउँमा । पढेलेखेर, विदेशमा बसेर पनि बाख्राको फोहोर काम गर्ने भनेर खिसि गर्न थाले । मजाक उडाए । बुवाआमाले पनि नगर्नू भन्थे । उहाँकै श्रीमतीलाई पनि चित्त बुझेको थिएन । 

तर मनोजलाई आफ्नो कुरामा विश्वास थियो । आफ्नो निर्णयमा अडिग हुनुहुन्थ्यो । कसैको कुराको प्रवाह नगरी घरभन्दा ६ सय मिटर पर रहेको आफ्नै जग्गामा खोर बनाउनुभयो । अनि ७/८ लाख रुपैयाँ ऋण लिनुभयो र आफैसित भएको २ लाख रुपैयाँ लगानी गरेर बाख्रा पालन गर्ने आँट्नुभयो । बाँसका चोयाबाट बनाएको खोरमा १५ वटा माउ र बाँकी खसीबोका गरेर २५ वटा बाख्रा राखेर सुरु गर्नुभयो व्यवसाय । न नमूना फार्म बनाउनुभयो न त कामदार राख्नुभयो । काममा आफै खट्नुभयो । यसरी कम लगानी गरेर न्यूनतम स्रोत साधनबाटै सुरु गर्नुभयो बाख्रापालन । मनोज बाख्रा चराएको देखेर गाउँलेहरु हाँस्थे । साथीहरु गिज्याउँथे । बाख्राको सिंगान पुछेर कति कमाउँछस् भन्थे । पढेलेखेर बाख्रा चराउन थाल्यो भन्थे । तर मनोजले कसैको कुरालाई ‘सिरियसली’ लिनुभएन । उहाँले आँटेपछि घरपरिवारको पनि साथ पाउनुभयो । आफ्नो र श्रीमतीको नाम जुराएर वि.सं. २०७५ सालमा एमएस एग्रो तथा कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा अघि बढ्नुभयो । 

आम्दानीमा ढुक्क, बजार जति पनि छ

अहिले मनोजको फार्ममा ४० वटा अफ्रिकन बोयर, बारबरी नसल, तिरोही नसल र स्थानीय गरी एक सय २५ वटा बाख्रा छन् । चार जना कामदार राख्नुभएको छ । १० लाख रुपैयाँमा लगानी गरेको उहाँको व्यवसाय अहिले एक करोडको हाराहारीमा पुगिसकेको छ । खोरमा अहिले ८० लाख रुपैयाँ बराबरका बाख्रा छन् । साथसाथै लोकल कुखुरा पनि पाल्नुभएको छ । खोर आफ्नै जग्गामा भएपनि घाँस लगाउन अढाइ बिघा जग्गा भाडामा लिनुभएको छ । 

उहाँलाई बाख्रा बेच्नको लागि कुनै समस्या छैन । दुई तरिकाले बाख्रा बिक्री गरिरहेको उहाँ बताउनुहुन्छ । उन्नत जातको पाठापठी प्रजनन् र मासुको लागि बिक्री गर्ने । उहाँका अनुसार खसी भनेको ‘लोकल मार्केट’ हो । स्थानीय बजारमा, मासु पसलमा बिक्री भइहाल्छन् । उहाँले उन्नत जातका पाठापाठीलाई देशभर बिक्री गर्नुहुन्छ । २० वटा जिल्लामा बाख्राका पाठापाठी बेचिसक्नुभएको छ । त्यसैले मनोज बाख्रा व्यवसायप्रति ढुक्क हुनुहुन्छ । भन्नुहुन्छ, ‘एटीएमले धोका दिन सक्छ तर खसी व्यवसायले धोका दिँदैन ।’ 

कोरोना महामारीका समयमा धेरैका फार्म बन्द भए तर मनोजको फार्म भने उहाँको मेहनत र आत्मविश्वासका कारण निरन्तर चलिरह्यो । सुरुमै ठूलो लगानी गरेर कामदारको भरमा चलाउनुभएन । व्यवसायमा आफै खट्नुभयो । दुई वर्षसम्म यसरी नै संघर्ष गर्नुभयो । व्यवसायको जग बलियो बनाउनमा ध्यान दिनुभयो । 

मनोजको अनुभवले भन्छ, ‘२० वटा बाख्रामा कामदार राख्दा सफल भइँदैन । आम्दानी जति सबै कामदारलाई जान्छ । बाख्रा बिरामी पर्छन् त्यसमा खर्च हुन्छ । बाख्रा पालनलाई कम्तीमा दुई वर्ष दिनुपर्छ ।’ 

यस्तै अर्को कुरा उहाँले घरपरिवारको साथ पाउनुभयो । सुरुवातमा बाख्रा पालन नगर भनेर सम्झाउने बुवाआमा श्रीमती नै उहाँका सारथी बनेका छन् । भाइबहिनी छोराछोरी लगायत घरपरिवारका सबै सदस्यले सघाएका छन् । परिवारको साथ पाउँदा व्यवसायमा सफल भएको मनोज बताउनुहुन्छ । 

‘श्रीमती अहिले मसँगै खोरमा बस्नुहुन्छ, बुवाआमा भाइहरु सबैले साथ दिनुभएको छ’, मनोज खुसी हुँदै भन्नुहुन्छ, ‘परिवारको साथ पाएर नै म अगाडि बढ्न सकेको हो ।’ 

व्यवसाय स्थीर बन्दै गएपछि यसलाई अगाडि बढाउन परिवारका सदस्यसहित थप जनशक्तिको आवश्यकता भएपछि बल्ल उहाँले कामदार राख्नुभयो । अहिले मनोजले चारजना कामदार राख्नुभएको छ । 

पालिकाको भूमिका ख्वै ?

वैदेशिक रोजगारीबाट फर्केर देशमै उद्यम गरिरहेका मनोजसहित १० जनालाई गएको जेठ २६ मा सरकारले ‘उद्यमी राष्ट्रिय पुरस्कार २०७९’बाट सम्मानित गर्यो । तर मनोजलाई यो सम्मानले खासै खुसी दिएन । किनकी उहाँको माग सरकारसँग भन्दा पालिकासँग ठोक्किन्छ । मनोजलाई पालिकाले पूर्वाधार विकास नगरिदिएकोमा दुःख लागेको छ । 

उहाँको बाख्रा फार्म गाउँभन्दा ६ सय मिटर टाढा छ । त्यहाँसम्म बिजुली पुगेको छैन । उहाँले आफैले तार जोडेर बिजुली त लिनुभएको छ । तर त्यसको भोल्ट नपुग्दा मोटर चलाउन गाह्रो पर्छ । घाँस काट्ने मेसिन चल्दैन । यस्तै सिँचाइको व्यवस्था छैन । पानी नपाएर घाँस सुकेर जान्छ । यस्ता समस्या लिएर मनोज पटकपटक आफ्नो पालिकामा पुग्नुभयो तर पालिकाले समस्या समाधानमा खासै चासो दिएन । त्यसैले उहाँले केन्द्रले गर्ने सम्मान भन्दा पालिकाले सहयोग गरे हुन्थ्यो भन्ने लाग्छ । 

‘हामी त गाउँमै व्यवसाय गर्ने मान्छे, पालिकाले हो नि हामीलाई पहिचान गर्ने, हाम्रा पीर मर्का बुझ्ने’, मनोज भन्नुहुन्छ, ‘हाम्रोमा त कृषकको लागि कुनै योजना नै बन्दैनन् । कुकुर डुलायो भन्यो राम्रो, बाख्रा चरायो भने नराम्रो भन्ने धारणा छ ।’ 

उहाँले मधेश प्रदेशबाट पनि अनुदान पाउनुभएको छ । तर तर केही रकम अनुदान दिने र सम्मान गर्ने मात्र नभएर कृषकको लागि ठूलाठूला योजना नै ल्याउनुपर्छ भन्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘कृषिप्रधान देश कृषिप्रधान देश भनेर त पढाइन्छ तर ख्वै त कृषिमा लगानी गरेको, कृषि सम्बन्धी योजना ल्याएको ?’ 

अबको योजना

मनोजलाई अब खोरमा बाख्राको संख्या बढाउने सोच छ । भारतका विभिन्न कृषि फार्मको भ्रमण गर्नुभएको छ । त्यहाँबाट उहाँले कम्पोष्ट मल बनाउने तालिम पनि लिनुभएको छ । यसलाई वृहत उत्पादन गर्ने हिसाबले अगाडि बढ्न मन छ । त्यसको लागि ऋण खोजिरहनुभएको छ । तर ऋण पाउन समस्या भएको उहाँ गुनासो गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘जुन बेलामा ऋण चाहिएको थिएन । त्यो बेला बैंक यतै आएर ऋण लिनु भनिरहेको थियो । तर अहिले ऋण नै पाउन गाह्रो छ ।’
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया