पुटिन कमजोर हुनु थप खतरा : ईयू कुटनीतिज्ञ

 असार १४, २०८० बिहीबार १९:३:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

युरोपेली सङ्घ (ईयू) का शीर्ष कुटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौँयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।

‘पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ’, ब्रसेल्समा ईयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भन्नुभयो, ‘अहिलेसम्म हामी रुसलाई खतराको रूपमा हेरिरहेका थियौँ किनभने यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ । अब हामीले आन्तरिक अस्थिरताका कारण रुसलाई जोखिमकारूपमा हेर्नुपर्छ ।’

सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।

यसैबीच ईयू प्रमुख उर्सुला भोन डेर लेयेनलले विद्रोहले ‘परकम्पन’ निम्त्याउने बताउँदै भन्नुभयो, ‘युक्रेनको सैन्य क्षमता होस् वा आर्थिक सहयोग, हामीले युक्रेनका लागि समर्थन दोब्बर पार्नु महत्त्वपूर्ण छ ।’ 

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीवार ईयूका नेताहरूसँग मध्याह्न भोजन गर्ने क्रममा वाग्नरको कामले रुसको ‘राजनीतिक सङ्कट र विभाजन’ उजागर भएको बताउनुभयो । तर उहाँले कुनै पनि अन्तिम निष्कर्षमा पुग्न हतार हुने चेतावनी दिनुभएको छ । 

स्टोलटेनबर्गले आउँदो महिना भिल्नियसमा हुने नेटोको बैठकमा युक्रेनलाई सैन्य सहयोग गर्ने नयाँ घोषणा हुने अपेक्षा गरेको बताउनुभयो । 

युरोपले ‘युद्धको समयमा र पछि’ युक्रेनलाई समर्थन गर्दै ‘लामो यात्रा’ का लागि युक्रेनलाई सहयोग गर्नुपर्ने भन्दै बोरेलले ‘युक्रेनी रक्षा कोष’ सिफारिस गर्नुभएको थियो । उहाँले यो कोषले युक्रेनी सेनाको आधुनिकीकरणमा सहयोग पुर्‍याउने र युद्धग्रस्त देशको सुरक्षा सुनिश्चित गर्न ईयूको प्रतिबद्धता रहेको बताउनुभयो । 

लिथुवानियाका राष्ट्रपति गीतानास वाउसेदाले रुसी खतराको सामना गर्न ‘निर्णायक’ कदम चाल्न आह्वान गर्दै बोरेलको भावनालाई प्रतिध्वनित गर्नुभएको थियो । 

वाउसेदाले भन्नुभयो, ‘रुसको राजनीतिक प्रणालीमा हुने कुनै पनि गतिविधिले हाम्रो सुरक्षामा असर पार्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ तर शक्तिशाली पुटिन कमजोर पुटिनभन्दा कम खतरनाक थिए भन्ने भनाइप्रति मेरो सहमति छैन ।’

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया