बजेटबारे अर्थमन्त्री– ‘कसौँडीमा पकाउने जति चामलले सबैको चाहना पूरा गर्न सकिँदैन’

 असार १५, २०८० शुक्रबार १४:२७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेटको स्राेत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा अर्थमन्त्री महतले अलमलका बीचमा पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको दाबी गर्नुभएकाे हाे । उहाँले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गर्नुभयो । उहाँले कसौँडीमा पाक्न सक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अनेकाैँ खाले अन्योलका बीचमा दुई महिनामा बजेट ल्याउनुपर्ने स्थिति थियो । तर मैले दृढ निश्चय गरेर बजेट ल्याएँ । जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्नसक्छ त्यसलाई मध्यनजर राखेर बजेट ल्याएकाे छु । कसैको मुख नहेरिकन, कसैलाई फाइदा पुग्ने र कसैलाई बेफाइदा पुग्ने गरी होइन, आमनागरिकलाई भलो हुने, राजस्वलाई वैज्ञानिक ढङ्गबाट करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन बजेट आएकाे छ । एउटा कसौँडीमा पाक्न सक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? अब हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्करोमा पकाउँदा पनि पुग्दैन ।’

मन्त्री महतले नयाँ पार्टीहरूले आकाशको तारा झार्छुभन्दा पनि नागरिक मान्न तयार रहने स्थिति देखिएको टिप्पणी गर्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया