'ट्रायल' मा ७० प्रतिशत लागू भएपछि पास हुने १० प्रतिशतले बढे

 असार १५, २०८० शुक्रबार १६:२५:२६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे गाडीकाे 'ट्रायल' परीक्षा पास हुने १० प्रतिशतले बढेका छन् ।

बाग्मती प्रदेश सरकारले गरेको निर्णयअनुसार काठमाण्डाै उपत्यकाका चार वटै यातायात व्यवस्था कार्यालयले गएकाे फागुनदेखि 'ट्रायल' दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए ।

पहिले दुई पाङ्ग्रे गाडीमा स–साना गल्तीका कारण फेल हुनेको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो । दुई पाङ्ग्रे गाडीमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चार पाङ्ग्रे गाडीकाे परीक्षामा भने पहिलेभन्दा उल्लेखनीयरूपमा बढ्न नसकेको उहाँले बताउनुभयो ।

गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने प्रमुख कपालीले बताउनुभयो । चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उहाँले बताउनुभयो ।

अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए ।

धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।’ यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भिड व्यवस्थापनको समस्या रहेकाेमा अहिले त्याे समस्या समाधान भइरहेको उहाँले बताउनुभयो ।

‘नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ’, प्रमुख कपालीले भन्नुभयो, ‘लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।’

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि बाग्मती प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे गाडीमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेका यातायात व्यवस्था विभागले जनाएको छ ।

लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भए पनि तीन पटकसम्म दिन पाउने व्यवस्था छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया