चालु आर्थिक वर्षकाे राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले

 असार १९, २०८० मंगलबार १७:३३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारकाे लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएकाे बताउनुभएको हो । उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकारले असार १८ गतेसम्म राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले नाै खर्ब रुपैयाँ राजस्व उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘असार १८ गतेसम्म सरकारको राजस्व आठ खर्ब ६६ अर्बमात्रै उठेको छ । अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११८० अर्ब उठाउँछु भनेकाे छ । आर्थिक वर्ष सकिन १२ दिनमात्रै बाँकी छ । औसत राजस्व सङ्कलन तीन अर्ब जतिमात्रै हुन्छ । सरकारले घटाएको संशोधित अनुमानलाई हेर्दा पनि दिनमा २६ अर्ब राजस्व उठाउनुपर्ने हुन्छ । सरकारले ४० दिनको पनि प्रक्षेपण गर्न नसकेको हो कि ? कि अर्को १२ दिनमा अर्को चमत्कार हुँदै छ ।’

सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि चार अर्ब ८० करोड रुपैयाँमात्रै उठेको बताउनुभयो । उहाँले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा पाँच अर्ब रुपैयाँ उठ्न सक्ने दाबी गर्नुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया