'लम्पी स्किन' नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

 असार १९, २०८० मंगलबार १८:११:४९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले महामारीको रूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।

रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो लिनुभएको छ । उहाँले कृषि तथा पशुपंक्षीमन्त्री डा. बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । 

सरकारले अहिलेसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशुचौपायामा खोप लगाइसकिएको छ ।

महामारी नियन्त्रणका लागि आउँदाे आर्थिक वर्षमा पालिकामा सङ्घीय सरकारले सःसर्त अनुदानअन्तर्गत एक लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइएको छ । 

विभागकी महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेका अनुसार सङ्घीय सरकारले एक सय ६१ वटा पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ ।

प्रदेश र पालिकासँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।

लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ । गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाक मुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने महानिर्देशक काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्क्रमित पशुमध्ये सामान्यतया एकदेखि तीन प्रतिशतसम्म पशु मर्न सक्ने र बिरामी पशुलाई स्याहारसुसार र प्राथमिक उपचार नपाएमा मृत्युदर बढ्न सक्छ । बाच्छाबाच्छी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैँसी यस रोगका कारण मर्न सक्ने भएकाले विशेष ख्यालको आवश्यक रहेको महानिर्देशक काफ्लेको भनाइ छ ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपछि पहिलो पटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो । रोग देखा परेपछिका शुरुका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए ।

चालु आर्थिक वर्षमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ । गएकाे चैतदेखि कोशी प्रदेशका केही जिल्लामा रोगको प्रकोप देखापरेको र क्रमशः अन्य प्रदेशमा फैलिई अहिलेसम्म ७६ जिल्लामा पुष्टि भएको छ ।

यस रोगबाट कर्णाली, सुदूरपश्चिम, कोशी र लुम्बिनी प्रदेशका मध्यपहाडी तथा पहाडी क्षेत्रमा बढी प्रभाव परेको विभागको भनाइ छ । अहिलेसम्म प्राप्त तथ्याङ्कअनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३  हजार आठ सय १९ निको भएका छन् । यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन् । अहिले दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन् । सङ्क्रमणको दर क्रमशः घट्दै गइरहेको विभागको दाबी छ ।

यस रोगको महामारी नियन्त्रणका लागि पशु सेवा विभागबाट सङ्घ, प्रदेश र पालिकामा कार्यरत पशु स्वास्थ्यकर्मी, निर्वाचित जनप्रतिनिधिलगायतका अन्य सरोकारवालासँग रोग रोकथाम तथा नियन्त्रणका लागि पटक–पटक समन्वय र सहकार्य गरिएको महानिर्देशक काफ्लेले जानकारी दिनुभयो । विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरी परिचालन गरिएको र सहसचिवको नेतृत्वमा प्रदेश र पालिकाका सरोकारवालासँग समन्वय गर्न सातै प्रदेशमा टोली परिचालन गरिएको छ ।

याे टोलीले प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसहित उपचार, प्राविधिक सल्लाह दिने काम गरेको छ । परिचालित टोलीले सबै प्रदेशमा थप समन्वय र सहकार्यका लागि प्रदेश तथा पालिकासँग समन्वय गरेको छ । अहिले रोगको प्रकोप देखिएका स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ ।

यस रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधिहरू तथा खोप आपूर्तिका लागि सङ्घ, प्रदेश तथा पालिकाबाट आवश्यक काम भइरहेको छ ।

त्यस्तै लामखुट्टे, झिङ्गा, किर्नालगायतका टोक्ने किराले यो रोग सार्ने हुँदा गोठ सफा राख्न, गोठ वरिपरिका पानीका खाल्डाखुल्डी पुर्न र गोठ निःसङ्क्रमण गर्न पशुधनीलाई विभागले अनुरोध गरेको छ । रोग देखा परेको क्षेत्रमा सङ्क्रमण हुनबाट बचाउन पशु स्वास्थ्यकर्मीहरूलाई प्राथमिक उपचारबारे जानकारी गराइएको छ ।

यो रोग नियन्त्रणका लागि विगत तीन महिनादेखि विभिन्न पैठारीकर्ताले खोप आपूर्ति गरिरहेका छन् । खोप आयातका लागि विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीका लागि अनुमति दिइएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट विभिन्न विकास साझेदारसँग रोग रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि समन्वय गरिएको विभागको भनाइ छ । मन्त्रालयले चालु आवमा बचत हुने रकम रोग नियन्त्रणका लागि रकमान्तर गरी पालिकामा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरेको छ ।

दीर्घकालीनरूपमा यो रोग नियन्त्रणका लागि आवश्यक खोप नेपालमा नै उत्पादन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वय भइरहेको महानिर्देशक काफ्लेले जानकारी दिनुभयो । खोप उत्पादनका लागि आवश्यक सिड तथा प्रविधि भारतसँग माग गर्न उच्च राजनीतिकस्तरबाट कुटनीतिक पहल जरुरी रहेको विभागको ठहर छ ।

प्रभावित पशुको उपचार तथा सङ्क्रमण नभएका क्षेत्रमा ठूलो मात्रामा खोप लगाउन आवश्यक भएकाले सोको लागि सरकारीस्तरबाट बजेट व्यवस्थापन गरी रोग नियन्त्रण कार्य सञ्चालन आवश्यक छ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शैलेन्द्र

    July 4, 2023, 7:11 p.m.

    सब झुट र बकवास मात्र हो । पशु सेवा बिभागले आफ्ना केही कर्मचारीहरुलाइ देस दर्शन गराउनु बहायेक रोग नियन्त्रणमा कुनै माखो मारेको छैन । बिभागले १ डोज खोप पनि खरिद गरेको होइन । खोप खरिद गर्न निजि छेत्रलाइ अनुमानि दिएको चाहिँ पक्का हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया