पाल्पाको रिब्दिकोट गाउँपालिका–१ मा गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता

 असार २१, २०८० बिहीबार १०:३६:३२ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

पाल्पा -  पाल्पाको रिब्दिकोट गाउँपालिका–१ मा गोरुपाल्ने किसानलाई प्रोत्साहन भत्ता दिइने भएकाे छ । आउँदाे आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने तयारी गरिएकाे हाे।

गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर पाँच हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याइएको वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । उहाँका अनुसार नयाँ किन्नेलाई पाँच हजार रुपैयाँ, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइनेछ । अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भत्ताको कार्यक्रम ल्याइएको हो ।

'घरमा गोरु पालियो भने खेतबारी बाँझिदैन, अहिले त घरमा भएका गोरु हटाउन थालियो, खेतबारी बाँझै राख्ने, बजारबाट अनाज किनेर खाने बानी बसेको छ, घरको उत्पादनले जीविका चलाउन प्रोत्साहन दिन यस कार्यक्रम ल्याइएको छ', वडाध्यक्ष पोखरेलले भन्नुभयो ।

कृषिलाई बढवा दिन यो नीति लिइएको वडाध्यक्ष पोखरेल बताउनुहुन्छ । 'गोरु पाल्दा सामान्य परिवारलाई ठूलो राहत मिल्छ । घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ । गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो ।' उहाँले भन्नुभयाे । 

अहिले गाउँघरमा एकहल गोरुले खेतबारी जोतेमा दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म ज्याला लिने गरिएकाे छ । घरमै गोरुपालन गरियो भने किसानका खेतबारी बाँझिने भएनन् अर्कोतर्फ खेतबारी जोतेर राम्रै कमाउन सकिने उहाँकाे बुझाइ छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया