वाग्नर प्रमुख अझै रुसमै छन् : बेलारुसी राष्ट्रपति

 असार २१, २०८० बिहीबार २०:४९:१३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रुसमै रहेका र बेलारुसमा कुनै पनि लडाकु समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरेको बेलारुसी शीर्षस्थ अधिकारीले बताएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भन्नुभयो, ‘जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ । उहाँ बेलारुसमा हुनुहुन्न ।’ 

मिन्स्कको प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टा लामो गोलमेच वार्तामा उहाँले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारुसका पत्रकारसँग कुराकानी गर्नुभएको थियो । लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुनुहुन्छ भन्ने कुरा आफूलाई ‘निश्चितरूपमा’ थाहा भएको बताउँदै भन्नुभयो, ‘मैले हिजो उहाँसँग फोनमा कुरा गरेको थिएँ ।’

क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारुसमा शिविर स्थापना नगरेको पनि उहाँले बताउनुभयो । लुकाशेन्कोले भन्नुभयो, ‘अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन ।’

उहाँले थप्नुभयो, ‘यो निर्णय उहाँको होइन, मस्कोको हो ।’ 

प्रिगोजिनले जुन २३ मा रुसको सैन्य नेतृत्वविरुद्ध विद्रोह सुरु गरेको घोषणा गरेका थिए । विद्रोहको घोषणासँगै राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती दिँदै मस्कोतर्फ सशस्त्र टुकडी पठाएका थिए तर तत्कालै एक–दुई दिनभित्र नै फिर्ता गरे ।

झन्डै २४ घण्टापछि क्रेमलिनले लुकाशेन्कोको मध्यस्थताका कारण सङ्कट समाधान भएको र प्रिगोजिन बेलारुस प्रस्थान गर्ने बताएको थियो ।

त्यसयता रुसी अधिकारीहरूले प्रिगोजिनको व्यवसाय बन्द वा छापा मारेका छन् ।

रुसी सञ्चारमाध्यमले बुधवार प्रसारण गरेको तस्बिरमा प्रहरी प्रिगोजिनको विशाल र विलासी भवनमा जुन २५ मा हेलिकप्टर पार्किङ गरी राखिएको अवस्थामा प्रवेश गरेको देखिएको छ ।

तस्बिरमा प्रहरीले रुबल र डलर, सुनका सिक्का, हतियार, विगले भरिएको कोठरी र प्रिगोजिनको नाममा थुप्रै राहदानी र विभिन्न व्यक्तिको फोटो फेला पारेको देखिएको छ ।

लुकाशेन्कोले आफ्नो देशमा वाग्नर सेनालाई शरण दिनेबारे आफू ‘चिन्तित वा दुःखी’ भने नभएको बताएका छन् । उहाँले भन्नुभयो, ‘यदि वाग्नर सैनिकहरू बेलारूस जाने हो भने उनीहरूले बेलारुसी सरकारसँग सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ । मलाई वाग्नरले बेलारुसको राज्यविरुद्ध आफ्नो बन्दुक उचाल्नुहुनेछ भन्ने लाग्दैन ।’ 

उहाँले अगाडि भन्नुभयो, ‘यदि हामीलाई यी एकाइहरू सक्रिय गर्न आवश्यक छ भने हामी तिनीहरूलाई तुरुन्तै सक्रिय गर्नेछौँ र उनीहरूको अनुभवको धेरै प्रशंसा गरिनेछ ।’

लुकाशेन्कोले प्रिगोजिन र पुटिनबीचको सम्बन्धका बारेमा पनि बोल्नुभएको थियो । ‘मलाई पुटिन र प्रिगोजिनबीचको सम्बन्धका बारेमा सबै कुरा थाहा छैन र म सबै कुरा जान्न चाहन्नँ । पुटिनले प्रिगोजिनलाई मभन्दा धेरै राम्ररी चिन्नुहुन्छ ।

उहाँले प्रसङ्गलाई थप व्याख्य गर्दै भन्नुभयो, ‘के तपाईँलाई पुटिन यति प्रतिशोधी हुनुहुन्छ भन्ने लाग्छ ? के उहाँले भोलि पुटिन वा आफूलाई टक्कर दिनेछन् ? अहँ, त्यस्तो हुनेवाला छैन ।’

द्वन्द्वमा पुटिनका निकटतम सहयोगी लुकाशेन्कोले आफ्नो देशलाई युक्रेन आक्रमणको मञ्चको रूपमा प्रयोग गर्न दिनुभएको युक्रेनलगायतका पश्चिमी सहयोगीहरूले आरोप लगाएका छन् । तर लुकाशेन्कोले बेलारुसको सेना युक्रेन द्वन्द्वमा संलग्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो केही पनि होइन र हुन्न । मलाई त्यसो गर्न बाध्य पारिन सक्छ ? यसको कुनै आवश्यकता छैन ।’ 

उहाँले रुसले बेलारुसलाई हस्तान्तरण गरेको सामरिक आणविक हतियारको ‘रक्षात्मक उद्देश्य’ मात्र रहेको बताउनुभयो । 

उहाँले द्वन्द्वमा बेलारुसी संलग्नताबारे भन्नुभयो, ‘हामी कसैलाई पनि आणविक हतियारले आक्रमण गर्ने योजना बनाइरहेका छैनौँ । तर बेलारुसमाथि आक्रमण भए तत्काल जवाफ दिइनेछ ।’

बेलारुसका नेताले यस वर्षको अन्त्यसम्ममा रणनीतिक हतियारहरू आफ्नो देशमा पूर्णरूपमा तैनाथ गरिने बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया