विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक : प्रशिक्षक देसाई

 असार २२, २०८० शुक्रबार १८:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्किएको छ ।

आज शुक्रवार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे । 

भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा स्थान बनाउन असफल रह्यो । सातौँ स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तरमा पराजित हुन पुग्यो ।

टाेलीका कप्तान राेहित पाैडेलले छनोटमा आशा गरेअनुसारकाे नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रसँग खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको बताए । खेल अगाडि टेस्ट राष्ट्र जिम्बावे र वेस्ट इन्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ । नेदरल्यान्ड्स विश्वकपमा छनोट हुनुले नेपालजस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्न सक्छौँ भन्ने प्रोत्साहन मिलेको उनले बताए ।

यस्तै टाेलीका अलराउन्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे । यद्यपि उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ । उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको झाकाे विश्वास छ ।

विश्वकप छनोटका लागि जिम्बावे पुगेको नेपाली टोलीले कुल छ खेल खेल्दा दुई वटा नतिजामात्र आफ्नो पक्षमा पारेको थियो । तीन वटा टेस्ट राष्ट्र जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एकमात्र एसाेसिएट राष्ट्र नेदरल्यान्ड्ससँग पनि हार बेहाेरेको थियो । बाँकी दुई वटा एसोसिएट राष्ट्र यूएई र अमेरिकालाई भने नेपालले हरायाे ।

अब नेपाली टाेली केही दिन आराम गरेपछि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलङ्का जानेछ

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया