ककनीको पानी हङकङ र मकाउ निर्यात

 असार २३, २०८० शनिबार १०:४९:५३ | रासस
unn.prixa.net

काठमाण्डाै – नुवाकाेटमा पर्ने ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न शुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात शुरु गर्नुभएको हो । 

गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गएकाे जेठदेखि निर्यात शुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो ।

हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।  “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उहाँले भन्नुभयो । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निर्णय हुने कम्पनीको भनाइ छ । 

“कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।” उहाँका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ । 

सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उहाँले जानकारी दिनुभयो । यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उहाँले सुनाउनुभयो । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ । 

“हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।” कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा करिब १२ करोड रुपैयाँकाे लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना पुनकाजी महर्जन र राजु रिमाल हुनुहुन्छ । चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गर्नुभएको थियो । यसअघि उहाँहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आउनुभएको थियो ।

कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उहाँको भनाइ छ ।

“एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ । बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ”, उहाँले भननुभयो । 

कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ ।

उहाँका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । “हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ”, उहाँले भन्नुभयो । कम्पनीमा अहिलेसम्म प्रत्यक्ष रुपमा ३३ जनाले रोजगारी पाइरहेको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Great job God bless you all the best

    July 8, 2023, 12:19 p.m.

    Please give me training I want do this type of business

  •  0 Reply

तपाईको प्रतिक्रिया