मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको ज्यान गयाे , ६० करोड रुपैयाँ भन्दा धेरै राहत क्षतिपूर्ति

 असार २३, २०८० शनिबार १३:१:४५ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा देशले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्रभित्र तथा यसको वरिपरि बसोबास गर्ने समुदायको वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति हुँदै आएको छ । 

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा एक सय ९७ मानिसको ज्यान गएको तथ्याङ्क छ । यस अवधिमा वन्यजन्तुबाट भएको क्षतिका लागि सरकारले ६० करोड १२ लाख ७४ हजार पाँच सय १४ रुपैयाँ क्षतिपूर्ति व्यहोरेको छ । 

साथै वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । देशभरका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्र आसपासमा हात्ती, बाघ, भालु, गैँडा, चितुवा, हिउँ चितुवा, ब्वाँसो, जङ्गली बँदेल, अर्ना, मगर गोही, गौरी गाईलगायत वन्यजन्तुसँग मानव द्वन्द्व बढेको देखिन्छ । 

आर्थिक वर्ष २०७९र८० जेठसम्म वन्यजन्तुबाट ३६ जनाको ज्यान गएको छ भने वन्यजन्तुबाट भएको क्षतिका लागि १० करोड ८७ लाख १८ हजार चार सय २९ रूपैयाँ राहत वितरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १४, बाघबाट १२, गैँडाबाट चार, चितुवाबाट तीन, जङ्गली बँदेलबाट दुई र भालुबाट एक गरी जम्मा ३६ जनाको ज्यान गएको छ । वन्यजन्तुबाट सामान्य घाइते ४६ जना, सख्त घाइते ९७ जना, पशुधनको क्षति तीन हजार ९१२, भण्डारण गरेको अन्नको क्षति दुई सय ५६, घरगोठको क्षति तीन सय ८५ र अन्नबालीको क्षति तीन हजार ७४ घटना भएको विभागको तथ्याङ्क छ ।

यसैगरी आव २०७८/०७९ मा देशभर वन्यजन्तुबाट ज्यान गुमाउने मानिसको सङ्ख्या ५८, सामान्य घाइते सङ्ख्या ७२ र सख्त घाइते हुनेको सङ्ख्या ११६ रहेको छ भने वन्यजन्तुबाट भएको क्षतिको कूल १२ हजार ६७२ वटा घट्ना दर्ता भएका छन् । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट २३ जनाको ज्यान गएको छ । त्यसपछि बाघबाट २१, गैँडाबाट पाँच, चितुवा र जङ्गली बँदेलबाट तीनरतीन र गौरी गाईबाट एक जनाको ज्यान गएको थियो । साथै वन्यजन्तुबाट भएको क्षतिबापत कूल १५ करोड ५८ लाख दुई हजार चार सय ६८ रूपैयाँ बराबरको राहत रकम वितरण गरिएको छ । मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम राहत उपलब्ध गराउने व्यवस्था छ । 

विभागका निमित्त महानिर्देशक अजय कार्कीले मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या तथा राहत क्षतिपूर्ति पनि बढ्को बताउनुभयो । वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय क्षतिपूर्ति दिनुपर्ने वन्यजन्तुको सूचीमा नीलगाई र बाँदर पनि थप गरेको बताउँदै उहाँले यसले क्षतिपूर्ति रकममा ठूलो मात्रामा वृद्धि हुने उल्लेख गर्नुभयो । मन्त्रालयको त्यस प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुने अन्तिम चरणमा छ ।  

यसका साथै मन्त्रालयले वन्यजन्तुको आक्रमणबाट अपाङ्ग भएका व्यक्तिलाई, अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र मृत्यु व्यक्तिलाई दिनुपर्ने क्षतिपूर्ति थप गरेकाले र गाई भैँसीको मृत्युमा दिने रकम दोब्बर गरेका कारण पनि राहत रकम बढने देखिन्छ । 

विभागले उपलब्ध स्रोत साधन र बजेटमा आधारित भएर रोकथाका काम गरिरहेको निमित्त महानिर्देशक कार्कीले बताउनुभयो । वन्यजन्तुलाई आफ्नो वासस्थानमा नै बस्न सक्ने गरी र जङ्गलमा आश्रित मानव समुदायलाई जीवनयापनको विकल्प दिने गरी विभिन्न कार्यक्रम गरिरहेको उहाँ बताउनुभयो । मुख्यरुपमा मानवले नै आनिबानी परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । 

आव २०७७/०७८ मा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ४०, सामान्य घाइते सङ्ख्या ९८ र सख्त घाइते हुनेको सङ्ख्या ६७ छ भने वन्यजन्तुबाट भएको क्षतिका कूल आठ हजार चार सय ५५ वटा घटना दर्ता भएको छ । यस अवधिमा सबैभन्दा बढी हात्ती र बाघबाट १३/१३ जना, त्यसपछि गैँडाबाट छ जना, भालु र चितुवाबाट तीनरतीन, जङ्गली बँदेल र गौरी गाईबाट एकरएक जनाको ज्यान गएको तथ्याङ्क छ । यस अवधिमा राहतबापत १४ करोड नौ लाख ९३ हजार पाँच सय ५६ रूपैयाँ वितरण गरिएको छ । 

त्यस्तै देशभर आव २०७६/०७७ मा वन्यजन्तुबाट मृत्यु हुने मानिसको सङ्ख्या ३३, सामान्य घाइते सङ्ख्या ६७ र सख्त घाइते हुनेको सङ्ख्या एक सय १० जना रहेको छ । यस अवधिमा सबैभन्दा बढी १३ जना हात्तीबाट, त्यसपछि बाघ र चितुवाबाट आठरआठ र गैँडाबाट चार जनाको ज्यान गएको थियो । वन्यजन्तुबाट भएको क्षतिका लागि राहतबापत १० करोड ६६ लाख ७५ हजार नौ सय ७१ रूपैयाँ वितरण गरिएको छ ।

आव २०७५/७६ मा वन्यजन्तुबाट ३० जनाको ज्यान गएको र १३७ जना घाइते भएको तथ्याङ्क छ । यस अवधिमा सबैभन्दा बढी हात्तीबाट १५ जना, चितुवाबाट छ जना, बाघबाट चार जना, गैँडाबाट दुई जना तथा जङ्गली कुुकुर, जङ्गली बँदेल र मगर गोहीबाट एकरएक जनाको ज्यान गएको थियो । साथै वन्यजन्तुबाट भएको क्षतिका लागि आठ करोड ९० लाख ८४ हजार ९० रूपैयाँ वितरण गरिएको थियो ।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्न सके वन्यजन्तु बाहिर ननिस्कने बताउँदै स्थानीयवासीको भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने र अप्ठेरोमा परेका वन्यजन्तुको उद्धार गर्नुपर्नेलगायत सुझाव दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया