राजकुमारको कृषि कथा : काम गर, सफलता मानिसको पछिपछि आउँछ

 असार २४, २०८० आइतबार १३:२६:३९ | रासस
unn.prixa.net

तस्बिर : रासस

सिन्धुपाल्चोक - गोठभरि गाईबस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् ।

वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उहाँ कृषि पेसामा आकर्षित हुनुभएको हो । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकाल्नुभएका उहाँको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् ।

लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँ कृषि पेसामा आकर्षित भएको बताउनुहुन्छ । 'आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?', उहाँले भन्नुभयो । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उहाँले विदेश जाने निधो गर्नुभयो । र, उहाँ मलेसिया हुइँकिनुभयो ।

उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो वचनले विसं २०६५ सालमा मलेसिया पुग्नुभएका उहाँ मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउनुहुन्छ । 'मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख बेहोरेको छु', उहाँले भन्नुभयो । मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उहाँ त्यहाँबाट भागेर स्वदेश फर्किनुभयो । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उहाँको मनबाट हटेन । र, फेरि उहाँ कतार जानुभयो । कतारमा उहाँले विमानस्थलमै काम पाउनुभयो । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उहाँ फेरि स्वदेश नै फर्किनुभयो ।

घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उहाँले विदेशी भूमिमै जाने निधो गर्नुभयो र दुबई जानुभयो । दुबईमा पेट्रोलपम्पमा काम पाउनुभयो । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाइ नभएपछि उहाँ फेरि स्वदेश नै फर्किनुभयो । विदेशी भूमिमा सात वर्ष समय बिताउनुभएका उहाँले विदेशबाट फर्कँदा जम्मा पाँच लाख रुपैयाँ रुपैयाँ लिएर फर्किनुभएको बताउनुहुन्छ ।

७५ लाख रुपैयाँ लगानी

गाईभैँसीपालनका लागि उहाँले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाख रुपैयाँ लगानी रहेको बताउनुहुन्छ । दूध बोक्नलाई बोलेरोसमेत किन्नुभएका उहाँले लक्ष्मी बैंकबाट ६० लाख रुपैयाँ ऋण लिनुभएको बताउनुहुन्छ । 'मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख रुपैयाँ ऋण लिएको छु । ३५ लाख रुपैयाँको बस्तुमात्रै छन्', उहाँले भन्नुभयो । सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उहाँ सुनाउनुहुन्छ। 'सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो', उहाँले भन्नुभयो । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उहाँको हिम्मतले आज सफलता र खुसी बनाएको छ ।

विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक तीन लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । गाईबस्तुको आहारबाहेक उहाँको मासिक डेढ लाख रुपैयाँ बच्छ । 'महिनामा तीन लाख रुपैयाँ कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि', उहाँले भन्नुभयो । उहाँ पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउनुहुन्छ । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उहाँ सुझाउनुहुन्छ ।

आफ्नै उत्पादन आफ्नै व्यापार

राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उहाँ दूध बेच्ने पनि गर्नुहुन्छ । उहाँको आफ्नै दूध डेरी पनि छ । मेलम्ची बजारमा उहाँले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्नुहुन्छ । उत्पादन गरेको दूध अन्त पुर्याउनुपर्ने झन्झट उहाँलाई छैन । दैनिक एक सय २० लिटर दूध उत्पादन हुने उहाँको गाई फार्मबाटै उहाँलाई मनग्य दूध पुग्दछ । आफ्नै उत्पादित दूधबाट उहाँ पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउनुहुन्छ ।

जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गर्नुभएका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाण्डाैका गल्ली–गल्लीमा सङ्घर्ष गर्नुभएका उहाँ गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उहाँको मुहारमा खुसी छाएको हो ।

सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर कुखुरापालनसमेत गर्नुभएका उहाँ हतार र हतास गर्न नहुने बताउनुहुन्छ । उहाँ सफलता मानिसको पछि–पछि आउने गरेको बताउनुहुन्छ । 'हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ', उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया