म्याग्दीकाे रघुगङ्गामा ढिकी, जाँतोको संरक्षण गर्दै आमा समूह

 असार २५, २०८० सोमबार ११:५५:१५ | रासस
unn.prixa.net

फाइल तस्बिर, रासस

म्याग्दी - म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङमा महतारे आमा समूहले परम्परागत ढिकी, जाँतोको संरक्षण गरेकाे छ । 

परम्परागतरुपमा कुटानी र पिसानीको लागि प्रयोग हुँदै आएका ढिकी, जाँतो हराएर जाने अवस्था आएपछि सामुदायिक भवन नै बनाएर संरक्षण गरिएको आमा समूहका अध्यक्ष सन्तु भण्डारीले जानकारी दिनुभयो।

विद्युतकाे पहुँच नहुँदा स्थानीयले कुटानीपिसानीका लागि जाँतो र ढिकीको प्रयोग गर्ने भए पनि अहिले हराएर जाने अवस्था आएपछि परम्परागत कुटानीपिसानीका साधनलाई संरक्षण गरिएको उहाँले बताउनुभयो ।

'घरायसी प्रयोजनका लागि आधुनिक मिलमा नै कुटानीपिसानी गर्ने प्रचलन छ, पूजाआजा हुँदा भने सामुदायिक भवनकै ढिकी र जाँतोमा कुटानीपिसानी गर्छौँ, परम्परागत जीवनशैलीबारे नयाँ पुस्तालाई जानकारी गराउन पनि यसलाई संरक्षण गरेका हौँ', उहाँले भन्नुभयो ।

आमा समूहले गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको सहयोगमा भवनसँगै खेल मैदानसमेत निर्माण गरेकाे छ । खेल मैदान निर्माण भएपछि महतारे, कोसेपानीलगायतका बस्तीका बालबालिकालाई खेल खेल्नका लागि सहज भएको छ ।

गण्डकी प्रदेश सरकारमार्फत् भौतिक पूर्वाधार विकास कार्यालयकाे चार लाख ५० हजार र गाउँपालिकाकाे पाँच लाख ३४ हजार रुपैयाँ बजेटकाे सहयाेगमा आमा समूहको भवन र खेलमैदान निर्माणसँगै घेराबारसमेत गरिएकाे छ । नवनिर्मित भवनको एउटा कोठामा ढिकी र जाँतोलाई राखिएको छ भने अर्को कोठालाई समूहको बैठक कक्ष बनाइएको छ ।

भवन निर्माण भएपछि समूहको बैठक बस्न व्यक्तिको घर, आँगन र खुला चौतारीमा बस्नुपर्ने बाध्यता हटेको आमा समूहका सचिव राधिका खत्रीले जानकारी दिनुभयो । भवन, खेलमैदान र घेराबार गर्न आमा समूहले समेत नगद करिब ५० हजार रुपैयाँ लगानी गरेका छन् भने जनश्रमदानसमेत गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया