शीर्ष नेताहरूलाई 'मूड' चलेन भनेर सदन राेकिन्छ ? : सभापति लामिछाने

 असार २५, २०८० सोमबार १८:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले जे बोल्यो त्यही नै आफ्नो पार्टीको भाष्य हो भन्ने ढङ्गले आफ्नो पार्टीलाई संसदमा बोल्न नदिएको दाबी गर्दै उहाँले त्यसप्रति आफ्नो पार्टीको घोर आपत्ति रहेको बताउनुभयो । 

सोमवार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले संसदमा आफ्नो पार्टी स्वतन्त्र अस्तित्वमा रहेकाले त्यहीअनुसारको व्यवहारको अपेक्षा गरिएको पनि बताउनुभयाे । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको राष्ट्रियताको सवालमा बोल्दा ख्याल राख्न पनि सचेत गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘दुई दिन अगाडि संसदमा रास्वपालाई बाइपास गरेर बोल्न दिइएन । हामी त्यसमा घोर आपत्ति जनाउन चाहन्छौँ । आफ्नै स्वतन्त्र अस्तित्वका साथ रास्वपा उभिएको छ । हाम्रो कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो त्यसैलाई नै हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो । प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । राष्ट्रिय स्वाधीनताको मुद्दा, राष्ट्रियताको सवालको मुद्दा र यो देशका सार्वभौमिकताको मुद्दामा यसरी फिर्ता लिनुपर्ने वा अप्ठ्यारो हुनुपर्ने अभिव्यक्तिका लागि भविष्यमा पनि सचेत हुन म पधानमन्त्रीजीलाई विनम्रतापूर्वक यहीँबाट अनुरोध गर्न चाहन्छु ।’

सभापति लामिछानेले संसद्/देशलाई कांग्रेस, एमाले र माओवादी केन्द्र तीन ठूला दलले बन्धक बनाउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘यो संसद् तीन दलले बन्धक बनाउन मिल्छ ? तीन दलले जे निर्णय गर्‍याे त्यही हो । अरू बाँकी रहेका माननीयहरू को ? हामी प्रतिपक्षमा छौँ । प्रतिपक्षले उठाएका विषयमा हामी एकढिक्का छौँ । सरकारले गरेको राम्रो काममा स्याबासी भन्न पनि हामी हिचकिचाउँदैनौँ । यो संसद्ले गर्नुपर्ने थुप्रै काम छन् अनि शीर्ष नेताहरूलाई मूड चलेन भनेर यो सदन रोकिन्छ सभामुख महोदय ? यो कदापि स्वीकार्य छैन ।’

सभापति लामिछानेले मिटरब्याज पीडितहरूलाई थप पीडा दिने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया