पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
नुवाकाेट - 'सामान्य भैँसी भारु एक लाख रुपैयाँमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बीएमडब्ल्यू कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोड रुपैयाँभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।'
भारतीय अनलाइन ‘एबीपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ ।
गएकाे जेठको दोस्रो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो ।
यो विषयले नेपालको सङ्घीय संसदमासमेत चर्चा पायो । हाँसोमजाकको विषय पनि बन्यो तर कृषिप्रधान देश नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ । देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग यस जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री प्रचण्डको याे भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो ।
एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाई भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन् । यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन् । व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता देशका लागि यो एक प्रकारको वरदान नै हो । केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँमा रहेकाे कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ । याे फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका ठाउँबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । अहिले एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन् । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ । पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ । याे फर्मले प्रति भैँसी दुई लाखदेखि १० लाख रुपैयाँसम्ममा ल्याएको हो । अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ । यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ ।
'मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ ।' फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भन्नुभयो, 'प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ वटा मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो । यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ । यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन ।'
उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाण्डौ छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गर्नुभएको थियो भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गर्नुभयो । आयात–निर्यातको व्यवसाय क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बस्नुभयो । त्यसपछि उहाँ नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरणा दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्कनुभयो । सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गर्नुभएको छ । उहाँले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिनुभएको छ ।
कृषि र पशुपालनसहित विषादीरहित खानको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सीआईपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समय कृष्ण दाहाललाई साझेदार बनाउनुभएको छ ।
कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा अहिले एउटा राँगोसहित १० वटा भैँसी, १० वटा गाई छन् । एक गिरी जातकाे गाई पनि छ । फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ । गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताउनुभयो । यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फर्ममा अहिलेसम्म करिब डेढ करोड रुपैयाँको लगानी भइसकेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र याे टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गएर प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताउनुभयो । ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क) लगायत स्थानमा राखेर वीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेढ लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको बताउनुभयो ।
नेपाल र भारतबीचको खुला सिमानाका कारण अहिलेम्म के–कति यस्ता भैँसी या राँगा अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताउनुभयो । औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रविना ल्याउने अनुमति पनि नभएको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।