तिलिचो ताल क्षेत्रबाट १ सय ५० किलो फोहर सङ्कलन : चाउचाउ, बिस्कुट, चकलेटका खोल धेरै

 असार २६, २०८० मंगलबार १३:५२:४२ | रासस
unn.prixa.net

मनाङ – अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाइ गरिएको छ । 

फोहरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहर सङ्कलन गरिएको हो ।

तालमा आवातजावतका क्रममा पर्यटकले फालेका एक सय ५० किलोग्राम फोहर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहरमैला हुने क्रम बढेको उहाँको भनाइ छ । 

‘विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ’, गौतमले भन्नुभयो, ‘ताल जाने बाटोमा विभिन्न ठाउँमा डम्पिङ साइट बनाइएको छ तर फोहरमैला भने यत्रतत्र फालिएको पाइयो ।’

तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत पदमार्गमा धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल भेटिएको उहाँले बताउनुभयो । ती जथाभाबी फालिएका फोहरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । 

तिलिचो पदमार्गका विभिन्न ठाउँमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहर सङ्कलन गरिएको पर्यटन व्यवसायी एवम् अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिनुभयो ।  

उहाँका अनुसार तिलिचो पदमार्गअन्तर्गत नकुहिने फोहरमैला मात्रा बढेकोले सरसफाइ तथा व्यवस्थापन गरिएको हो । ‘यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहर पनि बढेको छ, यहाँको फोहरमैला सङ्कलन गरी व्यवस्थापन गर्दै आएका छौँ’, उहाँले भन्नुभयो । विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रलाई सधैँ स्वच्छ र सफा राख्नु आवश्यक रहेको अध्यक्ष टसीले बताउनुभयो । 

गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालको किनारमा सरसफाइ गरिएको छ ।

अहिले विश्वकै अग्लो ठाउँमा रहेको तिलिचो ताल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड बढिरहेको छ । प्राकृतिक छटाले भरिएको तिलिचो ताल हिमशृङ्खला र नीलगिरि हिमालको हिमनदीबाट निर्माण भएको हो । 

यस तालबाट अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि यहाँ पर्यटकको भिड लाग्ने गरको छ । मनाङ पुगेका केही पर्यटक तिलिचो तालमा पुग्ने गरेका छन् । कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सार, थोराङला पास हुँदै जोमसोम निस्कने गर्दछन् । 

लमजुङको सदरमुकाम बेसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको सदरमुकाम चामे हुँदै थोराङपास गरी मुक्तिनाथको दर्शन, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुग्ने गर्दछन् । 

पदयात्राका सौखिन पर्यटक पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ कट्दा आफूलाई भाग्यमानी ठान्ने गर्दछन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मको दुई समयलाई मानिन्छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया