परदेशिनेहरु भन्छन् – ‘नेपालकाे कमाइले घरखर्च चलेन’

 असार २७, २०८० बुधबार १६:५३:४८ | बेदानन्द जाेशी
unn.prixa.net

जसरी साइबेरियन चराहरु जाडो छल्न मेरो देश आए 
त्यसैगरी मेरो देशका चराहरु पनि गरिबी छल्न अरब गए ।।

कवि नरेश भण्डारी उर्फ न्याथन रायनले ‘पोयट आइडल नेपाल’मा सुनाएको यो कविता सामाजिक सञ्जालमा ‘भाइरल’ छ । उनले अनुभूतिका साथ वाचन गरेको यो कवितामा परदेशिनुको बाध्यता र पीडा एकसाथ पोखिएको छ । यस्तै बाध्यता र पीडाका घनिभूत दृश्य देखिन्छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर ।

महोत्तरीका सुलेमान अन्सारी साउदी जानको लागि विमानस्थल पुग्नुभएको छ । उमेरले ६० वर्ष पुग्नलाग्दा पनि वैदेशिक रोजगारीकै भरमा हुनुहुन्छ सुलेमान । २० वर्ष भयो उहाँले वैदेशिक रोजगारीमा जान थाल्नुभएको । झण्डै एक दशक कतारमा बिताएर अहिले साउदीको रोजगारीमा हुनुहुन्छ उहाँ । छोराछोरी हुर्केखेलेको हेर्नै नपाउँदै कमाउने भइसके । यसलाई सुख भन्ने कि दुःख सुलेमान एकछिन सोच्नुहुन्छ ।

‘के गर्ने ! बाध्यता यस्तो आइपर्यो नि, छोराछोरीको पढाइ खर्च चलाउने भन्दाभन्दै आफ्नो उमेर बितिसक्यो’, मलिन अनुहारमा एकैछिन उज्यालो छर्दै भन्नुभयो ‘जेठो छोरो कमाउने भइसक्यो, बैंकमा जागिर गर्छ ।’ 

एक छोरा कमाउने भए पनि उहाँले बोकिरहनुभएको आर्थिक भार घटेको छैन । चार छोरी र तीन छोराका पिता सुलेमानलाई अझै बाँकी छोराछोरीको पढाइखर्च धान्नुपर्ने अभिभारा छ । कोही स्कुल तहमा त कोही क्याम्पसमा पढ्दै छन् । परदेशकै कमाइले सबै सन्तानलाई पढाउनुभयो । सुलेमान वैदेशिक रोजगारीमा जानुभन्दा पहिले गाउँमै सिलाइकटाइको काम गर्नुहुन्थ्यो । महिनाको दश हजार रुपैयाँ जति कमाउनुहुन्थ्यो । छोराछोरी हुर्किँदै गए । खर्च बढ्दै गयो । त्यतिको कमाइले राम्रो  शिक्षा दिन सक्दैन भन्ने लाग्यो । अनि उहाँ खाडी उड्नुभयो । अहिले साउदीमा पनि उहाँले सिलाइ कटाइकै काम गर्नुहुन्छ । यहाँको जति मेहनतमा त्यहाँ कमाइ धेरै हुन्छ । त्यसैले त उहाँले साउदीलाई छोड्न सक्नुभएको छैन ।

सुलेमान अन्सारी

दुई दशक वैदेशिक रोजगारीमा बिताइसक्नुभएका सुलेमान अझै कति बस्नुहुन्छ होला परदेशमा ? उहाँ भन्नुहुन्छ, ‘सायद यो नै अन्तिम पटक होला’, सुलेमान भन्नुहुन्छ, ‘धेरै बसियो उता, अब जे जति इन्सेन्टिभ र पेन्सन मिल्छ त्यो बुझेर आउने हो ।’ 

दुई महिनाको बिदा सकेर साउदी फर्किँदै गर्दा अब चाँडै फर्किन्छु भन्ने भावसहित विमानस्थल वरपर राम्रोसँग नियाल्नुभयो । अनि सुटकेश राखेको ट्रली गुडाउँदै सुलेमान टिकट जाँच गर्ने गेटभित्र प्रवेश गर्नुभयो ।

वैदेशिक रोजगारीमा जानेहरु कतिपय त सुलेमान जस्तै नेपालमै गर्दै आएको काम गर्न विदेश जाने गरेका छन् । उनीहरु नयाँ र राम्रो काम नभएर कामको उचित पारिश्रमिक खोज्न परदेश जाने गर्छन् । सुलेमान अन्सारी जस्तै भक्तपुरका अमिर बोहजू पनि नेपालमै गरिरहेको कामले जीवन नधानेपछि वैदेशिक रोजगारीको लागि यूएई जाँदै हुनुहुन्छ । लाइट ड्राइभिङ गर्दै आउनुभएका अमिर  नेपालमा ड्राइभिङको जागिरले खान नपुगेपछि त्यही काम गर्न विदेशिन विवश हुनुहुन्छ । 

‘यता पनि म ट्याक्सी चलाउँथे तर यहाँको कमाइले गुजरा चलाउनै धौधौ भयो त्यसैले विदेश जान लागेको, त्यहाँ पनि ड्राइभिङकै काममा जान लागेको हु’, अमिरले भन्नुभयो ।

अमिरकी श्रीमती अमिरलाई विमानस्थलसम्म छोड्न आउनुभएको छ । आँखा आँशुले टिलपिल छन् । मनले हजार कुरा भनिरहेको छ, तर मुखबाट बोली फुट्दैन । श्रीमानसँग बिछोडिनुको पीडा लुकाएर घरको आर्थिक अवस्था सुध्रिएला र छोराछोरीको भविष्य राम्रो होला भन्दै चित्त बुझाउनुहुन्छ । 

दिउँसोको टन्टलापुर घाममा पसिना पुछ्दै हतारहतार विमानस्थल प्रवेश गर्नेहरुलाई कसले भनिदेओस् ‘नेपालमै रोजगारी छ, परदेश नजाऊ’ भनेर । पाँच वर्ष साउदीमा बसेर बिदामा घर आउनुभएका नुवाकोटाका श्रीकृष्ण कुमाल तीन महिनाको बिदा सकाएर साउदी फर्किन लाग्नुभएको छ । साउदी जानुभन्दा पहिले उहाँ काठमाण्डौमै एक टेक्सटायल कम्पनीमा काम गर्नुहुन्थ्यो । त्यहीबेला बिहे गर्नुभयो, छोराछोरी भए । यहाँको कमाइले पुग्न छाड्यो । थोरै खर्च गरे पनि वचत गर्नै धौ धौ हुन थाल्यो । अनि उहाँ स्काफोल्डिङ कामको लागि साउदी जानुभएको हो । देशको नेतृत्व राम्रो नहुँदा आफूजस्ता युवाहरु विदेशीनुपर्ने अवस्था रहेको गुनासो पोख्नुहुन्छ श्रीकृष्ण । भविष्यको लागि सामान्य वचत हुन्छ कि भनेर परदेशिन बाध्य भएका उहाँ आफूले जसरी आफ्ना भाइहरुले परदेशिन नपरोस् भन्नुहुन्छ । 

‘सरकारले देशमै केही गर्न सक्ने वातावरण बनाइदियो भने यसरी घरपरिवार छाडेर परदेशिनुपर्ने थिएन, अब आउने नेतृत्वले यो कुरा बुझोस् । अब आउने युवाहरुले यसरी विदेश जान परोस् ।’

अछामका लोकराज कुँवर पनि विमानस्थलतिर टहलिरहनुभएको छ । निधारमा टिका र गलामा खादा छ । रोजगारीको खोजीमा केही वर्ष पहिले भारतसम्म पुग्नुभएका उहाँ अहिले बहराइन जान विमानस्थल पुग्नुभएको हो । 

‘भारतमा पनि सोचेजस्तो कमाइ भएन, खानबस्न मात्रै भएर के गर्ने, केही वचत गर्न सकिन्छ कि भनेर परदेश जान लागेको’, लोकराजले भन्नुभयो । बिजुलीका सामग्री उत्पादन गर्ने कम्पनीमा प्याकिङको काममा गइरहनुभएका उहाँलाई ५५ हजार रुपैयाँ कमाइ हुन्छ भनेको छ । त्यही विश्वासमा उहाँले म्यानपावरलाई डेढ लाख रुपैयाँ बुझाउनुभयो । 

लोकराज भारतमा काम गरिरहँदा नेपालमा चुनाव थियो । रोजगारीका चर्चा थिए । त्यही आशामा उहाँ घर फर्किनुभयो । तर चर्चा त सामाजिक सञ्जाल र मिडियामा मात्र हुँदा रहेछन् । व्यवहारमा केही लागू भएको नदेखेपछि २५ वर्षका लोकराजले वैदेशिक रोजगारीमै जाने निर्णय गर्नुभयो । 

‘नेताहरुले पनि भाषणमा मात्रै भन्ने हुन्, जो सरकार आए पनि उही हो’, उहाँ भन्नुहुन्छ, ‘अर्काको देशमा गुलामी गर्न जानु राम्रो त के हुन्थ्यो र नेपालमै रोजगारी मिलेको भए घरपरिवार छाडेर जान मन त कहाँ थियो र ।’ 

सुधिरकुमार यादव

सर्लाहीका सुधिरकुमार यादवलाई पनि विदेश फर्किन मन त थिएन । तर बाध्यता यस्तै आइलाग्यो । चार वर्ष पहिले उहाँ तीन वर्षे साउदी बसाइलाई बीट मार्दै देशमै केही गर्छु भनेर  नेपाल फर्किनुभएको थियो । साउदीमा होटेलमा काम गरे पनि सेवासुविधा केही थिएन । कमाउने आशा बोकेर साउदी जानुभएका सुधिरको साउदी बसाइ राम्रो भएन । नेपाल फर्केर उहाँले गाउँमै किराना पसल खोल्नुभयो । तर उधारो बढी जाने हुँदा पसल चलाइराख्न गाह्रो भयो । कहिलेकाहीँ ट्याक्टर चलाउने काम पनि गर्नुभयो । त्यसबाट पनि कमाइ भएन । न किराना पसल राम्रोसँग चल्यो न त ट्याक्टरको साहुले बैलैमा ज्याला दिए । दुई जना छोराछोरीको भविष्यको लागि केही कमाउनुपर्यो भन्दै उहाँले फेरि एकपटक वैदेशिक रोजगारीमा जाने भन्दै विमानस्थल पुग्नुभएको हो । 

परदेश जाने भिडमा पुरुष मात्रै छैनन् । महिलाहरु पनि उत्तिकै छन् । पुरुष जत्तिको सहज त कहाँ हुन्छ र महिलालाई परदेशिन । नौ नौ महिना कोखमा हुर्काएका छोराछोरीको माया र उनीहरुको यादले भतभती पोल्छ । तर पनि विमानस्थलमा आँशु लुकाएर सुटुक्क परदेशीन बाध्य छन् आमाहरु । लाग्छ देशको बेरोजगारीले गर्दा बालबालिकाबाट आमाहरुको माया खोसिएको छ । छोराछोरीको मायालाई नै बन्धकी राखेर साहुबाट लाखौँ रुपैयाँ ऋण काढेर विमानस्थलमा पुग्नुभएको छ दाङकी पुतला नाथ पनि । उहाँ याे भन्दा पहिले पनि वैदेशिक रोजगारीमा तीन वर्ष जोर्डन बसेर दुई वर्ष पहिले घर फर्किनुभएको थियो । उहाँका ९ र १२ कक्षामा पढ्ने दुई छोराछोरी छन् । जोर्डनबाट फर्केर तिनै छोराछोरीसँग बस्न मन थियो । उनीहरुलाई मिठो मसिने पकाएर खुवाउँदै, उनीहरुलाई हुर्काउँदै बस्ने मन नभएको त कहाँ हो र पुतलालाई । त्यसैले उहाँले गाउँतिरै ज्यालादारी काम भए पनि गर्न थाल्नुभयो । तर न सधैँ काम मिलिराख्ने न त समयमै ज्याला पाइने । अनि विवश पुतला छोराछोरीकै भविष्यको लागि फेरि उनीहरुबाटै टाढिनुपर्ने अवस्थामा आइपुग्नुभयो ।

‘अब विदेश नजाने भनेर गाउँतिरै ज्यालादारी पनि गरेँ, तर ठेकेदारले समयमै पैसा नदिने, न त मेहनत गरेअनुसारको कमाइ नै हुने’, पुतला भन्नुहुन्छ, ‘यसले घरखर्च चलाउन गाह्रो हुन थाल्यो त्यसैले विदेश जान लागेको ।’ 

यी त केही प्रतिनिधि पात्र मात्र हुन्, दैनिक हजारौँ नेपाली युवा यसैगरी धन कमाउन परदेशिन बाध्य छन् । सरकारले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने भनिरहँदा घरपरिवार, देश छाडेर परदेशिनेको संख्या दिनप्रतिदिन बढीरहेको छ । नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको असार १५ सम्म वैदेशिक रोजगारीमा जानको लागि सात लाख ४० हजार जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्षमा झण्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

अन्तिम अपडेट: जेठ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया