कर्णालीका घरघरमा प्रहरीको स्टिकर

 असार ३१, २०८० आइतबार २०:३२:११ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान शुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज आइतवारदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो ।  

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले याे अभियानको शुरुवात गर्नुभएको छ । अभियानको शुरुवात गर्दै उपप्रधानमन्त्री खड्काले याे कार्यक्रमले प्रहरीलाई नागरिकसँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपत् विपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले याे अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री खड्काले याे अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो ।  

कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले प्रहरीको सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताउनुभयो । प्रहरीले आफ्नो सेवा सहज बनाउन, नागरिककाे प्रहरीसँग पहुँच बढाउन तथा सुरक्षित प्रदेश बनाउनका लागि घरघरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस्ने अभियान थालिएको उहाँले बताउनुभयो । 

कर्णाली प्रदेशका तीन लाख ७१ हजारभन्दा बढी घरमा स्टिकर टाँसिने छ । डीआईजी ढकालले तीन महिनासम्म स्टिकर टाँसिने र यसका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिनुभयो । स्टिकर टाँस्दा पारिवारिक तथ्याङ्क पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई नागरिकसँग जोड्नका लागि यो अभियानले सहयोग पुग्ने बताउनुभयो । उहाँले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातोमालो गर्नुपर्ने जिकिर गर्नुभयो । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल र नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकाले सार्थक बनाउन सहयोगको आग्रह गर्नुभएको छ । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया