पाँचतारे होटल, विदेशी रक्सी र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

 साउन १, २०८० सोमबार २०:३९:५१ | रासस
unn.prixa.net

काठमाण्डौ – आज सोमवारदेखि पाँचतारे होटल, विदेशी रक्सी र १० लाख रुपैयाँमाथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । 

आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन २०८० को दफा २१ मा पाँचतारे वा त्योभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित रक्सी र १० लाख रुपैयाँभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लगाउने उल्लेख छ । आर्थिक ऐनको त्यही व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि ल्याएको हो ।

कार्यविधिअनुसार सम्बन्धित करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालय र रक्सीको हकमा सम्बन्धित भन्सार कार्यालयले त्यस्तो कर उठाउने छन् ।

‘शुल्क असुल गर्ने र राजस्व खातामा दाखिल गर्ने प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएको व्यक्तिले अलग्गै दर्ता गर्नुपर्ने छैन’, कार्यविधिमा भनिएको छ, ‘कारोबारको लेखाङ्कन प्रोदभावी (एक्रुयल) आधारमा गर्नुपर्नेछ भने कारोबारको मासिक विवरण अर्को महिनाको २५ गतेभित्र सम्बन्धित कार्यालयमा दाखिल गर्नुपर्नेछ ।’

आर्थिक ऐन २०८० को दफा २१ अनुसार तोकिएको समयभित्र विवरण पेस नगरेमा विवरण पेस गर्नुपर्ने मितिदेखि विवरण पेस नभएको मितिसम्म दाखिला गर्नुपर्ने शुल्कमा वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम थप शुल्क लाग्नेछ । सेवा प्रदायक वा बिक्रेताले सङ्कलन गरेको शुल्क सम्बन्धित कार्यालयको कोड र तोकिएको राजस्व शीर्षमा अर्को महिनाको २५ गतेभित्र दाखिल गरिसक्नुपर्नेछ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने आर्थिक ऐनमा उल्लेख छ ।

त्यस्तै सेवा प्रदायक तथा बिक्रेताले शुल्क असुल नगरेमा, बिक्री कारोबारलाई खण्डीकरण गरेमा वा वास्तविक कारोबारभन्दा घटी कारोबार घोषणा गरी न्यून शुल्क असुल गरेको पाइएमा २५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने कार्यविधिमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया