पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाग्लुङ - बाग्लुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्नुपर्ने नीति लागू गरेकाे छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।
नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो ।
नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मरेका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ ।
कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताउनुभयो । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ ।
पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि दुई सय रुपैयाँ तिर्नुपर्नेछ भने नवीकरणका लागि एक सय रुपैयाँ तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा एक हजार रुपैयाँभन्दा बढी सेवासुविधा दिने उहाँले बताउनुभयो ।
'घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौं', प्रमुख सापकोटाले भन्नुभयो, 'नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नम्बरसहितको बेल्ट घाँटीमा बाँधेर पठाउँने गरेका छौँ ।' घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उहाँले बताउनुभयो ।
सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको सङ्केतका आधारमा कुकुर धनी पत्ता लगाइने उहाँको भनाइ थियो ।
जिल्ला सदरमुकाम बाग्लुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिएर कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको रहेको छ ।
नगरभित्र छाडा कुकुरका कारण दुर्घटना बढ्नुका साथै छाडा कुकुरले टोक्दा रोग फैलिएको घटना बढ्दै गएकाले छाडा कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरका मेयर वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
'नगरपालिकाले कुकुर व्यवस्थापन कार्य शुरु गरेको छ, नगरवासीको प्रमुख गुनासो कुकुरको समस्या भएकाले कार्यविधि बनाएर कुकुर व्यवस्थापन गर्न थालिएको हो', उहाँले भन्नुभयो, 'घरपालुवा कुकुर नै रोगी भएर वा मानासिक असन्तुलन भएर छाडा छोड्ने गरेकाले घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्ने व्यवस्था गरेका छौँ ।' उहाँले यसरी घरपालुवा कुकुर छाडा भएमा कुकुरधनीसँग जानकारी लिन सहज हुने बताउनुभयो ।
नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बाग्लुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।