असाेज १ गतेदेखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन हुने

 साउन ५, २०८० शुक्रबार ८:३४:४७ | रासस
unn.prixa.net

साङ्केतिक तस्बिर

भक्तपुर - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आउँदाे असोज १ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । 

काठमाण्डाै उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, 'आउँदाे दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।'

मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरु गर्न लागेको हो । तत्कालका लागि द्रुत बस सेवा गाडीको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको  छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताउनुभयो । 

द्रुत बस सञ्चालनका लागि सडकको लेन छुट्टै व्यवस्था गरिने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो । 

द्रुत बस सेवा सञ्चालनका लागि सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकारप्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ । 

अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भन्नुभयो ।

मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाईँ, सचिव शर्मा, सहसचिव अर्जुन थापा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरी पोखरेल, ट्राफिक प्रहरीका कार्यालयका प्रतिनिधि र यातायात व्यवसायी महासङ्घका पदाधिकारीसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । 

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । अहिलेका लागि अरु गाडीमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया