कञ्चनपुरमा धानबालीमा गबारो किराकाे प्रकाेप

 साउन ५, २०८० शुक्रबार १३:२६:३३ | रासस
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरमा धानबालीमा गबारो किराकाे समस्या देखिन थालेकाे छ । गबारो किराले धानकाे गुवो खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित भएका छन् । 

गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बिउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका–१ का किसान गोपी साउदले बताउनुभयो ।

'धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ', उहाँले भन्नुभयो, 'धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।'

कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको बताउँदै किसान साउदले  नगरका मेयर र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेकाे बताउनुभयो । 

गबारोको समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका बिरुवा डुब्ने गरी पानी लगाउन  सल्लाह दिइएको नगरपालिकाका  कृषि शाखा प्रमुख लालबहादुर धामीले बताउनुभयो । 

'गबारो रोगको समस्या नगरपालिकाका सबै वडामा छ', उहाँले भन्नुभयो, 'सबैभन्दा बढी वडा नं १, २ र ७ मा देखिएको छ, गबारो रोग निदानका लागि किसानलाई उपाय सिकाउने कार्यमा लागेका छौँ, त्यसका लागि टोली परिचालन गरिएको छ ।'

शुक्लाफाँटा नगरपालिका–७ का किसान कल्लु डगौराले रासायनिक मल प्रयोग गरिएको खेतमा गबारोको समस्या बढी देखिएको बताउनुभयो । 'घरमै उत्पादित प्राङ्गारिक मल हालेको खेतमा गबारोको त्यति समस्या छैन', उहाँले भन्नुभयो, 'रासायनिक मल हालेको खेतमा पूरै गबारो रोगको समस्या छ ।'

नगरपालिकाको चुरे फेदीका किसानले रोपेको धानमा गबारोको प्रकोप बढी देखिएको हो। कृषि शाखका प्रमुख करन सिंह बुढाऐरका अनुसार किसान गबारोको समस्या लिएर शाखमा पुग्न थालेका छन् ।

'गबारो किरा शत्रु जीव भएकाले त्यसको व्यवस्थापनका लागि सल्लाह दिने कार्य भइरहेको छ । धान बढ्ने र गाँजो हाल्ने बेला गबारोको समस्या देखिएकाले किसान निकै चिन्तित भएका छन्' उहाँले भन्नुभयो, 'धान रोपिएको ४१ देखि ८० दिनसम्म कार्वोफुरान नामक विषादीको प्रयोग गर्न सल्लाह दिएका छौँ ।' 

विषादीले धानका बिरुवाको उपचार गर्दा खेतमा पाँचदेखि आठ सेन्टिमिटरसम्म पानी हुनुपर्ने उहाँको भनाइ थियो । त्यो पानी खेतमा पाँच दिनसम्म राख्नुपर्छ । कञ्चनपुर धान खेतीका लागि उर्बर भूमि मानिन्छ  । यहाँ ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया