‘एक घण्टाकाे बाटाे अब १० मिनेटमै’

 साउन ५, २०८० शुक्रबार २०:४५:५६ | रासस
unn.prixa.net

बाग्लुङ – बाग्लुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । 

दुदिलाभाटीमा पर्ने मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २ सय २७ दशमलव २ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिनाअघि नै निर्माण भएको छ । 

काठमाण्डौको सस्पेन्सन वृज डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग विसं २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकोमा छ महिनाअघि नै निर्माण भएको हो । 

एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको पुल असार मसान्तमै सकिएर हस्तान्तरणको तयारीमा पुगेको कास्कीमा रहेको स्थानीय पूर्वाधार आयोजना कार्यालयका इन्जिनियर निरज सापकोटाले जानकारी दिनुभयो । 

‘१८ महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो, समयमै भुक्तानी गर्न सकेको भए अझ पहिलै सकिन्थ्यो, सम्झौताभन्दा अघि नै निर्माण सक्नु सकारात्मक पक्ष हो’, उहाँले भन्नुभयो, ‘पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुने भयो, पुल अन्तिम प्राविधिक मूल्याङ्कनपछि पुल हस्तान्तरण गरिने छ ।’ 

इन्जिनियर सापकोटाका अनुसार ‘डी’ टाइप मोडेलमा निर्माण भएको यस झोलुङ्गे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र दुई सय २७ मिटर लामो झोलुङ्गे पुल पहिलो पटक निर्माण भएको हो । 

साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताउनुभयो । उहाँका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घण्टालाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ । 

पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिनुभयो । ‘मध्य पहाडसँग छुटेको गाउँलाई झोलुङ्गे पुलले जोडेर सहज भएको छ, जिल्ला सदरमुकाम जानलाई यहाँका बासिन्दाको एक घन्टाको यात्रा छोटो भएको छ’, उहाँले भन्नुभयो, ‘झोलुङ्गे पुल निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्य चौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भएको हो ।’

निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्याङ्कनपछि हस्तान्तरण गरिने निर्माण कम्पनीका  तीर्थाराम खड्काले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • khagendra acharya

    July 22, 2023, 7:31 a.m.

    राम्रो कुरा भयो । सबै आयोजनाहरू यसैगरी समयमा सम्पन्न हुदा ढिलासुस्तीको अन्त्य हुन्छ । तर ढिलो हुनुमा धेरै जसो सरकार पक्ष पनि जिम्मेवार छ । समयमा सम्झौता नगर्ने, अनेक प्रकारका झन्झट दिने । एकद्वार प्रणाली नहुनु, अनि समयमा रकम भुक्तानी नदिनु पनि ढिलासुस्तीको कारण बन्ने गरेको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया