सात वर्षपछि नलगाड जलविद्युत् आयोजनाको डीपीआर तयार

 साउन ६, २०८० शनिबार १७:१४:१३ | रासस
unn.prixa.net

नलगाड जलविद्युत् आयोजना, जाजरकाेट । तस्बिर : रासस

जाजरकोट - नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रतिवेदन तयार भएको छ । ३१ महिनाभित्र पूरा गर्नुपर्ने याे प्रतिवेदन सात वर्षपछि तयार भएको हो ।

विसं २०७३ सालमा ३१ महिनाकाे समय राखेर अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले विस्तृत अध्ययन, बोलपत्र आह्वानको तयारी तथा डीपीआर बनाउने ठेक्का पाएको थियो । नियमानुसार विसं २०७६ सालमा नै डीपीआर तयार गरिसक्नुपर्नेमा सात वर्षपछि मात्र तयार भएको आयोजनाका निर्देशक सुनिल पौडेलले जानकारी दिनुभयो । 

परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले जाँचका लागि नेपाल इञ्जिनियर्स एसोसिएसन (एनईए) लाई उपलब्ध गराउँदा सकारात्मक प्रतिक्रिया दिएपछि डीपीआरको काम पूरा भएको उहाँले बताउनुभयो । 

निर्धारित म्यादभित्र काम सम्पन्न नभएपछि पटकपटक म्याद थपेर ताकेता गरेपछि डीपीआर प्रतिवेदन तयार भएको पौडेलको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) लाई पूर्णता दिनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । 

वन मन्त्रालयले सातदिने सू्चना निकालेर पालिका तथा स्थानीय स्तरमा रहेका वन समूहसँग राय, सुझाव माग्ने तयारी भइरहेको आयोजनाका निर्देशक पौडेलले जानकारी दिनुभयो । 'याे सुझावलाई एक समिति बनाइ निष्कर्ष निकालिने छ । डीपीआर र ईआईएको सबै काम अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले गरिरहेका छन्', उहाँले भन्नुभयो ।  

डीपीआर प्रतिवेदन प्राप्त भएसँगै नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जापानी सहयोग नियोग (जाइका) सँग छलफल भएको र त्यस छलफल सकारात्मक भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार लगानीका लागि जाइका तयार भएपछि सम्झौताको तयारी थालिएको हो । 

छिटोभन्दा छिटो सम्झौता गर्ने तयारी भइरहेको भन्दै पौडेलले चार सय १७ मेगावाट क्षमताको त्यस जलविद्युत् आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार लगानी जुटाउने प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार सुरुआतदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो । 

विभिन्न चरणमा सरकारकोतर्फबाट जापान सरकारसँग लगानीका विषयमा छलफल भइरहेको भन्दै निर्देशक पौडेलले लगानी सुनिश्चित हुनेगरी पहिलो प्राथमिकता जाइकालाई दिइएको जानकारी दिनुभयो । 'अहिले ईआईए स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । ईआईए स्वीकृत हुनेबित्तिकै आयोजना निर्माण प्रक्रियामा लैजाने गरी तयारी थालिएको छ । त्यसका लागि लगानी जुटाउन पहल भइरहेको छ', उहाँले भन्नुभयो । उहाँका अनुसार आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

वातावरणीय व्यवस्थापनमा अनुमानित लागत ५६ अर्ब रुपैयाँ लाग्ने आयोजनाले बताएको छ । त्यस आयोजना निर्माण साढे छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको बाँध भरिँदा चार सय ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आयोजनाका अनुसार त्यस आयोजना निर्माणस्थल समुद्री सतहदेखि एक हजार पाँच सय ८० मिटरसम्मको उचाइमा पुग्नेछ । यहाँ पाँच सय ४५ मिटर चौडाइ र दुई सय १० मिटर अग्लो जलाशय बन्नेछ । आठ हजार तीन सय मिटर लामो भूमिगत सुरूङ निर्माण गरी चार सय १७ मेगावाट विद्युत् उत्पादन हुने डीपीआरमा उल्लेख गरिएको छ । 

आयोजनाले पार्ने वातावरणीय एवं जैविक प्रभाव न्यून गर्नुपर्ने, वातावरणीय संरक्षण नियम, २०५४ लाई ध्यान दिनुपर्ने र स्थानीय स्रोतरसाधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिँदै काम अगाडि बढाउनुपर्ने सरोकारवालाको भनाइ छ । आयोजनाबाट नलगाड नगरपालिका–५ र ७, बारेकोट गाउँपालिकाका–१, २, ५, ६, ७ र ८ वडा प्रभावित हुनेछन् । 

'आयोजना निर्माणपछि हरित ग्यासको उत्सर्जन घट्ने र सात लाख १७ हजार टन कार्बन उत्सर्जन कटौती हुनेछ', आयोजनाका निर्देशक पौडेलले भन्नुभयो, 'आयोजना निर्माणसँगै क्षेत्रीय पूर्वाधारको विकास, विदेशी मुद्रा आर्जन, पर्यटन, ग्रामीण अर्थतन्त्रको विकास एवं विस्तार, रोजगारीका अवसर सिर्जना, व्यापार व्यवसायको अवसर वृद्धिलगायत काम हुनेछ ।' 

यसैबीच नलगाडसँगै जोडिएको वडा नं १० र ११ को सिमानामा बन्ने ७ दशमलव १ मेगावाट क्षमताको ताक्सुगाड जलविद्युत् आयोजनाको अध्ययनको काम सकिएको छ । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले विसं २०७५ सालमा विद्युत् विकास विभागबाट सर्वेक्षण अनुमति पाएको थियो । करिब पाँच वर्ष लगाएर पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको कम्पनीका निर्देशक पौडेलले बताउनुभयो । अध्ययनको काम सकेर उत्पादनका लागि लाइसेन्स माग गर्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ । 

पौडेलले १० दिनमा कम्पनीले निर्माण उत्पादन अनुमतिका लागि विभागसँग माग गर्नेगरी काम अघि बढाएको जानकारी दिनुभयो । 'अध्ययनका सबै काम सकेका छौँ । आयोजना निर्माणका लागि उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गरेर दुई वर्षमा आयोजनाको काम सम्पन्न गर्ने गरी योजना बनाएका छौँ', उहाँले भन्नुभयो, 'आइतवार मात्र पीपीएका लागि नेपाल विद्युत् प्राधिकरणसँग छलफल हुनेछ ।' 

आयोजना निर्माणका लागि ६५ किलोमिटर जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको आयोजनाका इञ्जिनियर पदमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन एक वर्षअघि नै बनिसकेका छन् । उहाँले यस आयोजना निर्माणका लागि एक अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको बताउनुभयो ।  

कर्णाली प्रदेश सरकारले पनि ताक्सुगाडमा लगानी गर्न बजेट विनियोजन गरेको पूर्वजलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो । गएकाे आवमा पनि त्यस आयोजनाका लागि बजेट छुट्याएको भए पनि सबै रकम अर्को ठाउँमा रकमान्तर गर्नुपरेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया