पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा छ सय ८१ पशुचौपाया मरेका छन् । यो रोगबाट जिल्लामा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार यस रोगबाट जिल्लाको १३ पालिकामा हालसम्ममा छ सय ८१ पशुको मृत्यु भएको छ । यस रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा ३० हजार सात सय ४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार चार सय ६४ गाई, दुई सय ७९ भैँसी रहेका छन् ।
केन्द्रका निमित्त प्रमुख डा नितेश कार्कीले प्रभावित पशुचौपायाको सङ्ख्या पनि उत्तिकै रहेको बताउनुभयो । उहाँका अनुसार ३३ हजार गाई र तीन सय ९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार आठ सय पशुमा रोगविरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन । जिल्लामा तीन लाख गाईभैँसी रहेका छन् ।
जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमणदर रहेको छ । बनेपाको छ वटा वडामा एक सय १८ पशु मरिसकेको तथ्याङ्कले देखाएको छ । बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ । बनेपामा छ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ । यहाँ प्रभावित पशु सङ्ख्या छ हजार दुई सय छन् । वडा नम्बर १ देखि ५ सम्म र १० नम्बर वडामा सङ्क्रमण फैलिएको जनाइएको छ ।
केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन् । धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन् । चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेबापत १० हजार रुपैयाँ तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।
जिल्लामा महामारीको रूप लिएको यस रोग नियन्त्रण बाहिर गएको बताइन्छ । यस रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषक बताउँछन् । सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा पशुहरूको ओसार–पसारमा विशेष सतर्कता अपनाउँदै उपचार, राहत, जनचेतना तथा बीमाको रकम भुक्तानीका लागि तीन तहकै सरकारको समन्वय र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले १३ वटै पालिकामा पशु स्वास्थ्य शाखा तथा सम्पूर्ण कृषकलाई सचेत रहन अनुरोध गर्दै हरेक पालिकाबाट नियमित रिपोर्टिङ गर्न र थप पशु मर्न नदिन खोप लगाउन भनेको बताउनुभयो ।
यो रोग लागेपछि गाईभैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना–ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।
यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट शुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै २०७७ सालकाे असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभ्रेपलाञ्चोकमा भने २०७७ सालकाे साउनमा पनौतीमा एक भैँसीमा देखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।