विश्वसनीय प्रतिपक्षविना नै कम्बोडियामा आमचुनाव, सत्ताधारी दलद्वारा जित हासिल गरेको दाबी

 साउन ८, २०८० सोमबार ७:४६:५९ | एजेन्सी
unn.prixa.net

कम्बोडियामा विश्वसनीय प्रतिपक्षविनानै आमचुनाव भएको छ । त्यहाँको राष्ट्रिय सभाका लागि १ सय २५ जना सांसद चयन गर्न हरेक पाँच वर्षमा चुनाव हुनेगर्छ । यो चुनावमा सत्ताधारी दलविरुद्ध विश्वसनीय प्रतिपक्ष प्रतिस्पर्धामा थिएन ।

सत्तारुढबाहेक अन्य १७ वटा दल सहभागी भए पनि ती सबै साना र नयाँ वा सत्तारूढ दलसँग गठबन्धन गरेका पार्टी हुन् । वर्तमान प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले हिजो भएको चुनावमा सहज जित हासिल गरेको दाबी समेत गरेको छ ।

सीपीपीका प्रवक्ता सोक आइसानले मतपरिणाम आफूहरुको पक्षमा रहेको बताउनुभयो । गएको मे महिनामा एक मात्र प्रतिपक्षी दल क्यान्डललाइटलाई सेन नेतृत्वको सरकारले चुनावमा भाग लिन अयोग्य घोषित गरेको थियो ।

आलोचकहरूले यो चुनावलाई ‘देखावटी’ भनेर टिप्पणी गरेका छन् । अमेरिकालगायत पश्चिम देशहरुले पनि मतदानको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका छन् । मतपरिणामको आधिकारिक नतिजा घोषणा हुन बाँकी नै छ ।

राष्ट्रिय निर्वाचन समितिले देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ तारिखमा सार्वजनिक गर्ने जनाएको छ । यसअघि सन् २०१८ मा भएको चुनावमा पनि सीपीपीले राष्ट्रिय सभाका सबै १ सय २५ सिट जितेको थियो । सीपीपीले सन् १९७९ देखि कम्बोडियामा शासन गर्दै आएको छ ।

यसै वर्षको सुरुमा प्रमुख प्रतिपक्षी नेता केम सोखालाई देशद्रोहको आरोपमा २७ वर्षको जेल सजाय सुनाइएको थियो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया