‘सांस्कृतिक सेतु’ बन्दै कोलकाताका नेपाली भाषी

 साउन ८, २०८० सोमबार २०:३४:१४ | रासस
unn.prixa.net

भारत – भारतको पश्चिम बङ्गालको कोलकातामा गहना चम्काउने 'मेटलफिनिसर' व्यवसाय गर्दै आएका भीमबहादुर श्रेष्ठले यतै मूल कर्मथलो बनाएको चार दशक बितिसककेको छ । 

उहाँले भन्नुभयो, ‘सानैदेखि यता आइयो । केही वर्ष निजी क्षेत्रमा नोकरीपछि आफ्नै लगानीमा व्यावसायिक कामहरू गर्न थालियो । अहिलेसम्म राम्रै भइरहेको छ ।’ पुर्ख्यौली घर रामेछाप भई पछि बसाइँ सरेर सर्लाही पुगेका र काठमाण्डौमा पनि घर बनाएका उहाँ कोलकातामा रहेको ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ का 'चेयरम्यान' को जिम्मेवारीसहित विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुनुहुन्छ । 

भारतको कोलकातामा रहेका नेपाली र नेपाली भाषी भारतीयको आर्थिक र सामाजिक अवस्थाबारे हाम्रो जिज्ञाशामा अहिले काकुरगाछी निवासी श्रेष्ठले भन्नुभयो, ‘मानिसले जीविका चलाएका छन् तर आउँदा दिनमा भारत सरकारले नेशनल रजिस्ट्रर सिटिजन्स (एनआरसी) लागू भएपछि समस्या हुन पनि सक्ने भएकाले सजग हुनुपर्छ । अब यहाँ हाम्रा लागि स्कोप घटेको छ ।’

उहाँका अनुसार नयाँ पुस्ताका नेपालीलाई अब यहाँ व्यवसाय वा रोजगारीमा पहिला जस्तो फाइदा हुँदैन । नेपालमै केही गर्न वा तेस्रो देशमा गएर आफ्नो दक्षता देखाउन उहाँ सुझाउनुहुन्छ । श्रेष्ठको कम्पनीमा कोभिड–१९ महामारी अघि ४० नेपाली श्रमिक थिए भने अहिले घटेर १३ जनामात्रै बाँकी छन् ।

कोलकातामा नेपाली भाषी चौकीदारी, सरकारी सेवा, अनौपचारिक श्रम, पारवहन, होटल व्यवसाय, गहनासम्बन्धी व्यवसायदेखि चिकित्सा, इन्जिनियरिङ पेसामा समेत संलग्न छन् । अबका दिनमा दोहोरो नागरिकता लिएर दुवै देशमा पेसा–व्यवसाय गर्न अहिलेसम्म समस्या नभए पनि एक देशको नागरिकता त्याग्नुपर्ने जस्ता प्रावधान आएमा कानुनी समस्या पर्न सक्ने देखिन्छ ।

नेपाली भाषीले आफ्ना रीतिरिवाज र चाडपर्व भने आफ्नो परम्पराअनुसार नै मनाउँदै आएका छन् । उनीहरूले घरपरिवारमा नेपाली भाषा बोल्ने गर्छन् भने विद्यालय र कार्यालयमा आवश्यताअनुसार हिन्दी, बङ्गाली र अङ्ग्रेजी भाषाको प्रयोग गर्छन् ।

हरेक वर्ष वडा दशैँका अवसरमा नवरात्र शुरु भएदेखि नै गोरखनाथ सेवा समितिको आयोजनामा पूजाआजा गरिँदै आएको छ । गएको वर्ष समिति स्थापनाको ५० औँ वर्ष भएकाले एसएन बेनर्जी रोड, न्यू मार्केट नजिक पशुपतिनाथको अस्थायी मन्दिर बनाएर नेपाली शैलीमा दुर्गा भगवतीको मूर्ति स्थापना गरेर समाजका सबै समुदायलाई पूजा गर्ने र हेर्ने प्रबन्ध गरेको समितिका महासचिव नरविक्रम थापाले जनाउनुभयो । थापाको सम्पादनमा समितिले हरेक दशैँका अवसरमा ‘मौलो’ पत्रिका प्रकाशन गर्दै आएको छ ।

यहाँ रहेको प्रवासी नेपाली सङ्गठन र सामाजिक संस्थामा उनीहरूको सहभागिता हुने गरेको छ । नेपाली जनकल्याण समितिले हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती कार्यक्रम गर्दै आएको छ भने ‘श्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घ’ ले मानवीय कार्य गर्दै आएको छ । समितिले यही साउन ६ गते हावडा मैदानमा रहेको शरत सदनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा २१० औँ भानुजयन्ती मनाएको छ । यो समितिले ‘नौलो बिहानी’ वार्षिक पत्रिका प्रकाशन गर्दै आएको छ । खिमराज बराल अध्यक्ष रहेको भारत नेपाल जनमैत्री सांस्कृतिक मञ्चका हरेक दुई वर्ष अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्दै आएको छ ।

‘श्री श्री जानकी माता नेपाली धार्मिक सङ्घ’ ले समय समयमा रक्तदान, होली मिलन, स्वास्थ्य शिविर, हरेक शनिवार गरिब तथा न्यून आय भएका समुदायलाई निःशुल्क भोजन गराउँदै आएको छ । सङ्घले दुई वर्षअघि मेलम्ची बाढी पीडितलाई चार लाख र भर्खरै रामेछापका मिर्गौला पीडित नवनाराण श्रेष्ठलाई ७३ हजार रुपैयाँ सहयोगलगायतका काम गरेर सामाजिक सद्भावको सन्देश दिँदै आएको संस्थाका सभापति गुञ्जदास श्रेष्ठले बताउनुभयो । यो संस्थाले आपसमा चन्दा उठाएर बारानगरमा कार्यालयका लागि घर पनि किनिसकेको छ । सामाजिक सेवाको भावनाले काम गरिरहेकाले यस संस्थालाई यहाँको सरकारले एम्बुलेन्स सञ्चालनको पनि जिम्मेवारी दिएको छ । आपत–विपदमा परेका स्थानीयले यसबाट सेवा पाउँछन् ।

कोलकाताको 'इलेक्ट्रिसिटी सप्लाई कर्पोरेशन' मा ३४ वर्षदेखि कार्यरत बारानगर निवासी तिलकराम शर्मा यतै स्थायी बसोबास गर्न थाल्नुभएको छ । अर्घाखाँचीमा जन्मिएका शर्माका श्रीमती रमा शर्मा पौडेल नेपालको शिक्षण पेसा छाडेर श्रीमानका साथमा सामाजिक सेवाका कार्यमा सक्रिय हुनुभएको छ । तिलकराम ‘जानकी माता नेपाली धार्मिक सङ्घ’ का मा महासचिव र श्रीमती शर्मा ‘जानकी माता महिला कल्याणकारी कोष’ का अध्यक्ष हुनुहुन्छ । श्रीमती शर्माले आफूहरूले कोषबाट गर्भवती महिलालाई माइतीको अनुभूति दिलाउन दही–चिउरा खुवाउनेजस्ता कार्यक्रम आरम्भ गरिएको जानकारी दिनुभयो ।

संयुक्त नेपाली वेलफेयर ट्रस्टले न्यू विवेकानन्द पार्क रोडको महेशतलामा रहेको बेहालामा पशुपतिनाथको स्थायी मन्दिर बनाउन जग्गा किनेर निर्माण कार्य शुरु गरिसकेको छ भने यहाँ भारत–नेपाल सांस्कृतिक भवन बनाउन पहल गर्ने लक्ष्य लिएको छ । मन्दिर बनाउन केशव अधिकारी क्षेत्रीको अध्यक्षतामा समिति गठन गरिएको छ ।

जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले जीवनको उर्बर समयमा यहाँ आएर अनेक दुःख हण्डर खाए पनि आफूहरूले जीवन गुजारा गर्दै सामाजिक सेवाका कार्यलाई प्राथमिकता दिने गरेको  सुनाउनुभयो । सिन्धुलीको बाँसकटेरीमा जन्मिएका थापा ११ वर्षको उमेरमा आफ्ना कान्छा मामा र दाइ नरविक्रम थापाका माध्यमबाट कोलकाता पुग्नुभएको थियो । शुरुमा औषधि पसलमा र पछि निजी विद्यालयमा सेवा गरेका बद्रीविक्रमको विवाह पश्चिम बङ्गालकै सपना थापासँग विवाह भयो । श्रीमती थापा यसबीचमा नेपाल आउने जाने गरेकाले नेपालको जनजीविका र संस्कारप्रति आकर्षित हुनुभएकाले बुढ्यौली जीवनमा उहाँ नेपालमै बस्न इच्छुक देखिनुभएको छ ।

यस्तै समितिका महासचिव रामबहादुर कार्कीले आफ्ना पिताले काम गरेको भारतको श्रम मन्त्रालयमातहतको केन्द्रीय प्रशिक्षण संस्थानमा सेवा गर्दै आउनुभएको छ । पुर्ख्यौली घर सङ्खुवासभाको पुपाङ्गु भएका कार्की अवकाशपछि सुनसरीको इटहरीमा फर्किएर बस्ने योजनामा हुनुहुन्छ । पाल्पाको गल्याङमा जन्मिएका बाबुराम शर्मा बस्याल मध्य प्रदेशको पर्यटन विभागमा 'कुक' को अनुभव लिएर अवकाश लिइसक्नुभएको छ । उहाँले दिल्ली, उडिसालगायतका शहरमा दुःखका साथ काम गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिएकाले उनीहरूले त्यस्तो दुःख नहुने विश्वास व्यक्त गर्नुहुन्छ ।

पछिल्ला वर्षमा भारतमा रहेका नेपाली र नेपालीभाषी भारतीयसँग सम्बन्ध सेतुको कार्य गर्दै आउनुभएका साहित्यकार धर्मराज बराल नेपाल सरकारले यहाँका नेपालीभाषी र नेपालीको सद्भावना वृद्धिका लागि न्यून ध्यान दिएको बताउनुहन्छ । उहाँ नेपाल सरकारका संयन्त्रको हार्दिकता बढेमा दुई देशबीचको सांस्कृतिक, धार्मिक, सामाजिक र आर्थिक सम्बन्धमा ठूलो टेवा पुग्ने ठान्नुहुन्छ ।

नेपालको एक पुरानो ‘मिसन’ कोलकोतामा रहेको नेपाली महावाणिज्यदूतावास र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको कोलकोतामा रहेको शाखाले दुई देशबीचको व्यापार, पारवहन र दुईपक्षीय सम्बन्धका क्षेत्रमा कार्य गर्दै आएको छ । उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिनाले आफूहरू नेपाली र नेपालीभाषीकै हितका साथै दुईपक्षीय सम्बन्धका लागि कार्य गरिरहेको बताउनुहुन्छ । उहाँले तेस्रो देशबाट सामान आयात र निर्यातका काम तथा यहाँ आएर कोही अलपत्र परेका वा हिरासतमा रहेका नेपाली महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उद्धार र पुनःस्थापना गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो । ‘हामीले नेपाली समुदायका नाममा रहेका विभिन्न सामाजिक संस्थालाई एकाकार गराउँदै नेपालका राष्ट्रिय दिवस र कार्यक्रममा जोड्दै आएका छौँ । नेपाली समुदायले गर्ने गरेका गतिविधिमा गक्षअनुसार सहयोग पनि गर्दै आएका छौँ’, तिमिल्सनाले भन्नुभयो । महावाणिज्यदूतावासले प्रवेशाज्ञा र राहदानीका कामका साथै नेपालमा लगानी र पर्यटक भित्र्याउने कार्यको प्रवर्धन पनि गर्दै आएको छ । यस्तै विद्यार्थीका लागि छात्रवृत्तिमा समन्वय र आपसी अन्तरक्रिया पनि गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया