कांग्रेस भएका कारण कसैले अतिरिक्त छुट पाउने र कसैले अनावश्यक भारी पनि बाेक्न हुँदैन : गगन थापा

 साउन ८, २०८० सोमबार १९:५०:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताउनुभएको छ ।

यही साउन २ गतेदेखि चलिरहेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज सोमवार उहाँले उठेका प्रश्नको जवाफ दिँदै भन्नुभयो, ‘कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छुट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।’

महामन्त्री थापाले मन्त्रालयको सङ्ख्या बढाएर गठबन्धन टिकाउने अवस्थामा पार्टी नरहेको बताउँदै गठबन्धनका दलको स्वार्थका लागि पार्टीले सहयोग गर्न नहुने उल्लेख गर्नुभयो ।

विसं २०८४ मा हुने चुनावमा पार्टीका तर्फबाट आवश्यक तयारी गर्नुपर्ने बताउँदै उहाँले आउँदा दिनमा पार्टीको केन्द्रीय समितिको बैठक समयमै गर्न थप आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महामन्त्री थापाले आमनागरिकको जनसरोकारको विषय पार्टीले सम्बोधन गर्न नागरिक सम्बन्ध समन्वय विभागको प्रस्तावसमेत गर्नुभयो ।

दलीयकरणको दुष्चक्र हटाउनुपर्ने धारणा व्यक्त गर्दै उहाँले सही व्यक्तिलाई सही ठाउँमा ल्याउन जोड दिनुपर्ने बताउनुभयो । महामन्त्री थापाले पार्टी सङ्गठनमा समावेशीकरणको विषयमा भएका कमजोरी सच्चाउनुपर्ने, अध्ययन अनुसन्धान बढाउने र साधारण सदस्यसँगै सक्रिय सदस्यलाई अनलाइनबाटै व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालका राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन असहज र अस्वाभाविक बनाइएकाले दलहरू सङ्कटमा पर्दै आएको धारणासमेत व्यक्त गर्नुभयो । ‘लोकतन्त्रमा 'एक्जिट' (बहिर्गमन) को व्यवस्था गरिएको हुन्छ । तर हाम्रोमा त्यो व्यवस्था गरिएको छैन’, उहाँले भन्नुभयो, ‘हाम्रा पार्टीहरू जमेको पोखरीजस्ता भए । राजनीतिक दलमा ३०/३५ वर्षदेखि चार/पाँच जनामात्रै 'म्युजिकल चेयर' खेलेको जस्तो आलोपालो गर्दा आमनागरिकले परिवर्तन अनुभव गर्न पाएका छैनन् ।’ महामन्त्री थापाले नेतृत्व परिवर्तनमा आफ्नो पहलकदमी निरन्तर रहनेसमेत प्रतिबद्धता गर्नुभयो ।

संविधानअनुरूप कार्यान्वयन प्रभावकारी नभएको उल्लेख गर्दै उहाँले संविधानको स्वामित्व आफूहरूले लिनुपर्ने बताउनुभयो । संविधानलाई मानेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न उठेका आवाजलाई समावेश गरेर जानुपर्ने महामन्त्री थापाको भनाइ थियो । उहाँले संविधानको पूर्ण कार्यान्वयनका लागि कांग्रेसले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसको आधारभूत मान्यतालाई बिर्सेर गठबन्धन गर्न नहुने उहाँको भनाइ थियो । सरकारले 'डेलिभरी' लाई प्रभावकारी बनाउनुपर्ने बताउँदै उहाँले सुशासन प्रवर्द्धनमा कांग्रेस पारदर्शी हुनुपर्छ भन्नुभयो । आउँदा दिनमा कांग्रेसले नागरिकले अनुभूति गर्ने गरी 'डेलिभरी' गर्नुपर्ने बताउँदै उहाँले सङ्कटग्रस्त देशको अर्थतन्त्रलाई सुधार गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया