चोभार सुक्खा बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने

 साउन ११, २०८० बिहीबार ६:५२:१२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन लागेकाे हाे । 

समितिले सोमवार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । सोमवार सार्वजनिक गरिएको बोलपत्रको अन्तिम मिति २०८० को भदौ २२ गतेसम्म रहेको छ । पोर्ट मेनेजमेन्ट, कन्टेनर फ्रेट स्टेशन मेनेजमेन्ट, फ्रेन्ट टर्मिनल मेनेजमेन्ट, वयरहाउस, ट्रान्सपोटेसन, क्लियरिङ एण्ड फरवार्डिङ र फ्रेन्ट फरवार्डिङमा कम्तीमा पाँच वर्षको अनुभव भएका कम्पनीले बोलपत्रमा भाग लिने पाउने समितिले जनाएको छ । 

तीन वर्षको औसत वित्तीय करोबार कम्तीमा ६० लाख रुपैयाँ बराबरको हुनुपर्ने पनि प्रावधानसमेत राखिएको छ । समितिका कार्यकारी निर्देशन आशिष गजुरेलले कानुनअनुसार नै बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरिएको जानकारी दिनुभयो । कानुन तथा निजी क्षेत्रले सञ्चालन गर्दा बन्दरगाहले नाफा आर्जन गर्ने अपेक्षासहित जिम्मा दिन लागिएको उहाँको भनाइ छ ।

'हाम्रो यसअघिको अनुभवले नै सरकारलेभन्दा निजी क्षेत्रले सञ्चालन गर्दा नाफा भएका छन्, यसअघिका अनुभवअनुसार चोभार पनि निजी क्षेत्रलाई दिन लागेका हौँ', उहाँले भन्नुभयो । सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी सञ्चालक कम्पनी छनोटका लागि समितिको छुट्टै टर्मिनल पट्टा बहालमा दिनेसम्बन्धी नियमावली, २०७० र नियमावलीअनुसार सञ्चालक कम्पनीको छनोट प्रस्तावदाताको प्रस्तावित प्राविधिक तथा आर्थिक प्रस्तावको संयुक्त मूल्याङ्कन विधिबाट गर्ने गरिएको छ ।

छनोट हुने कम्पनीको विज्ञता प्रयोग गरी चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउने र व्यापार सहजीकरण चुस्त, छिटो छरितो र किफायती हुने विश्वास समितिले लिएको गजुरेलको भनाइ छ ।

उहाँका अनुसार अहिले सञ्चालनमा रहेका छवटै बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै आएका छन् । गएकाे आर्थिक वर्ष २०७९/८० मा मात्रै समितिले निजी क्षेत्रले बन्दरगाह सञ्चालन गरेर दिएको रकमबाट एक अर्ब २० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । दुई सय २० रोपनीमा फैलिएको चोभार बन्दरगाह विश्व बैंकको  एक अर्ब पाँच सय ६७ करोड रुपैयाँ ऋण सहयोगमा निर्माण गरिएको थियो । विसं २०७५ सालदेखि निर्माण थालिएको बन्दरगाह गएकाे चैत २२ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया