वीरगञ्जमा खानेपानीको हाहाकार : ट्याङ्करबाट टोलटोलमा पानी बाँडिँदै

 साउन १२, २०८० शुक्रबार ६:४२:१० | रासस
unn.prixa.net

पर्सा – खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगञ्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कामलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न ठाउँमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । 

महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । बिहान ५ बजेदेखि राति ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मेयर सिंहको भनाइ छ ।

ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सात वटा वडाको विभिन्न ठाउँमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ । यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक ठाउँमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ । 

खानेपानीको पाइप लाइन वडा नम्बर १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक ठाउँमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिनुभयो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । 

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ ।

महानगरभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेका नेपाल खानेपानी संस्थान वीरगञ्जका प्रमुख ई. नीरन महर्जनले जानकारी दिनुभयो ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घन्टा धारामा पानी पठाउँदै आएको छ । ‘पहिला चापाकलबाट पानी आउँथ्यो, त्यति बेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्’, उहाँ भन्नुहुन्छ, ‘तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।’ धारा लिन आउनेलाई ग्राहक बनाएर धारा दिइरहेको उहाँको भनाइ छ ।

एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगञ्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख ई. महर्जन बताउनुहुन्छ ।

वीरगञ्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनासमेत अघि बढाएको उहाँको भनाइ छ । ‘हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ’, प्रमुख महर्जनले भन्नुभयो, ‘यो सम्झौताअनुसार वडा–वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता गठनलगायतको प्रक्रिया शुरु गरिसकेका छौँ । छिट्टै त्यो काम गर्छौँ र खानेपानी पुर्‍याउँछौँ ।’

तस्बिर : श्याम गुप्ताकाे फेसबुकबाट

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया