शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

 साउन १३, २०८० शनिबार १५:५५:१५ | रासस
unn.prixa.net

तस्बिर : रासस

कञ्चनपुर - महेन्द्रनगरमा रहेकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा पाटेबाघ रहेका छन् । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गेको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात हुन थालेको छ । 

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थानलगायतको उचित व्यवस्थाले बाघको सङ्ख्या बढ्दै गएको निकुञ्जले जनाएको छ ।
    
निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जमा भन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताउनुभयो । 'यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो व्यवस्था गरिएको छ', उहाँले भन्नुभयो, 'आहाराका प्रजाति धेरै भएकाले पनि यहाँ बाघको सङ्ख्या बढेको हो ।'

शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको ऐरले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा बाघको प्रमुख आहाराका रुपमा बाह्रसिङ्गे रतुवा, चित्तल र बँदेल छन् ।

'निकुञ्जभित्र प्राकृतिक ताल र तीन वटा ठूला नदीहरु छन्', ऐरले भन्नुभयो, 'यस बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ । वन्यजन्तुलाई प्यास मेटाउन पानीको अभाव छैन ।' उहाँका अनुसार निकुञ्ज क्षेत्रमा चौधर, स्याली र महाकाली नदी छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख पानीको स्रोत रहेको निकुञ्जले जनाएको छ । 
    
पछिल्ला केही वर्षयता शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरीसिकार नियन्त्रण भइ आहारा प्रजातिको उपलब्धता भएकाले बाघको सङ्ख्या चार वर्षमा दोब्बर पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । 'पछिल्लो समय चोरीसिकार नियन्त्रण र आहारा प्रजाति निकै राम्रो भएकाले अहिले बाघकाे सङ्ख्या दोब्बरले वृद्धि भएको हो', उहाँले भन्नुभयो ।
    
जोशीका अनुसार निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति निकुञ्ज संरक्षणमा लागेका छन् । निकुञ्जमा सन् २०१३ को गणनाअनुसार १७ वटा बाघ रहेकामा सन् २०२२ को गणनामा यो सङ्ख्या बढेर ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया