ल्याण्डफिल साइटका नागरिककाे अवराेधका कारण पाेखराकाे फाेहर चार दिनदेखि उठेन

 साउन १३, २०८० शनिबार १९:०:२७ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की - पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही १० गते बुधवारदेखि बजारको फोहर उठ्न नसकेको हो ।

पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुङ्गा, महेन्द्रपुल, न्युरोड, नयाँबजार, सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहर थुप्रिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको ल्याण्डफिल साइटमा फोहर लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायी रुपमा वडा नं ३२ लामेआहालमा रहेकाे सेती नदी किनारमा बजारको फोहर व्यवस्थापन गर्दै आएको थियो ।

स्थानीयले लामेआहालमा महानगरले फोहर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभाबी फोहर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै लैजान अवरोध गरेका हुन् । महानगरले छ महिनाभित्रमा फोहर व्यवस्थापनका लागि स्थायी व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै काम अघि नबढाएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयको अवरोधपछि पर्यटकीय सहरको फोहर सडकबाट नउठ्दा बजार दुर्गन्धित भएको हो ।

पुस दोस्रो हप्तादेखि लामेआहालमा रहेकाे सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले फोहरमैला व्यवस्थापन गर्दै आएको छ । वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहज रुपमा फोहर लैजान छलफल भइरहेको बताउनुभयो । ल्याण्डफिल साइटको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीयको रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'राम्रोसँग फोहर व्यवस्थापन हुनुपर्छ भन्ने र सडक राम्रो बनाइदिनुपर्दछ भन्ने मुख्य माग स्थानीय नागरिकको छ, हामीले त्यसका लागि प्रतिबद्धता जनाएका छौँ, महानगरका मेयरले स्थानीयलाई छलफलमा बोलाउनुभएको छ, आइतवारसम्म सहमति हुन्छ होला ।'

महानगरका मेयर धनराज आचार्यले ल्याण्डफिल साइट क्षेत्रका स्थानीयसँग सम्वाद भइरहेको बताउनुभयो । उहाँले बजार क्षेत्रमा सडकमा ल्याएर फोहर नफाल्न पोखरावासीमा आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, 'ल्याण्डफिल्ड साइटमा फोहर लैजान केही अवरोध भएकाले चार दिनदेखि फोहर उठाउन सकिएको छैन, हामी सम्वादमा छौँ, डेङ्गी बढिरहेको अवस्थामा फोहर उठाउन नपाउँदा दुखित भए पनि आशा गरौँ छिटोभन्दा छिटो समस्या सामाधान हुनेछ, फोहर उठाउने गाडी नआउँदासम्म प्रतिक्षा गरौँ र सडकमा फोहर नफाल्न आग्रह गर्दछु ।'

पोखरा महानगरले यसअघि गएकाे पुसमा छ महिनाका लागि भनेर लामेआहालमा अस्थायी फोहर व्यवस्थापन शुरु गरेको हो । महानगरले वडा नं ३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरेको छ । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया