तोकेभन्दा बढी शुल्क लिने टोखाका संस्थागत विद्यालयलाई कारबाहीमा

 साउन १५, २०८० सोमबार ८:४०:२० | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - टोखा नगरपालिकाले तोकेभन्दा बढी शुल्क लिने टोखाभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने भएको छ ।

नगरपालिकाले हिजाे एक विज्ञप्ति जारी गरी विभिन्न मिति र समयमा नगरपालिकाभित्रका संस्थागत विद्यालयको अनुगमन तथा निरीक्षण गर्दा कतिपय विद्यालयले अभिभावकसँग नगरपालिकाले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएको पाइएकाे जानकारी दिएकाे हाे । 

नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले अनुगमनका क्रममा नगरपालिकाले तोकेकोभन्दा बढी शुल्क लिएको, कक्षा ११ को नतिजा समयमै प्रकाशन नगरेको, विद्यालयमा विद्यार्थीमैत्री वातावरण नभएको, शुल्क सम्बन्धमा अभिभावकसँग विवाद रहेका पाइएकाले त्यस्ता विद्यालयलाई कारबाही गर्न लागेकाे बताउनु भयाे । 

अनुगमन तथा निरीक्षणका क्रममा विद्यालयको वातावरण सफासुग्घर नभएको, शैक्षिक सत्र २०८० को शुल्क प्रस्ताव नगरपालिकाको कार्यालयमा पेस नगरेको, अन्य तथा अतिरिक्त शुल्क बढी लिएको, मन्टेश्वरी सञ्चालनका लागि अनुमति लिएर कक्षा ३ सम्म सञ्चालन गरेको पाइएको शिक्षा अधिकृत धामीले बताउनुभयो ।

यस्तै, विद्यार्थीअनुसार डेस्क तथा बेन्चको व्यवस्था नभएको, विद्यालय प्रशासन र विद्यार्थीहरूका बीच सुमधुर सम्बन्ध नराखेको, मन्टेश्वरी कक्षाको अनुमति लिई नगरपालिकामा अभिलेखीकरण नगरेको, विद्यार्थीलाई हतोत्साहित हुने प्रकृतिका क्रियाकलाप गरेको, तहअनुसार योग्यता प्राप्त शिक्षक नभएको बताइएको छ ।

काठमाण्डाैको उत्तरी क्षेत्रमा रहेको टोखामा ११ वडा रहेका छन् । नगरपालिकाभित्र अहिले ८४ वटा संस्थागत, नौ वटा सामुदायिक र तीन वैकल्पिक विद्यालय रहेका छन् । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया