बढ्दै छ गलैँचा, अलैँची, अम्रिसाेदेखि कुकुर तथा बिरालाेको खाना निर्यात

 साउन १८, २०८० बिहिबार २०:१६:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – गएकाे आर्थिक वर्ष २०७९/८० मा नेपालको व्यापार घाटा साढे १४ खर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् देशमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थितरूपले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र विस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।

यद्यपि केही यस्तो वस्तुहरू छन् जसको निर्यातबाट नेपालले राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैँचा, अलैँची, अम्रिसो, कुकुर तथा बिरालाेको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गएकाे आवमा नेपालले २४ अर्बभन्दा बढी आम्दानी गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा नेपालबाट ४१ अर्ब रुपैयाँ बढीको कार्पेट (गलैँचा) निर्यात भएको छ । गएकाे आवमा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँको गलैँचा निर्यात भएको विभागको भनाइ छ ।

यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका देशमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौँबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा युरोप नै हो । गएकाे आवमा अमेरिकामा मात्रै सात अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गएकाे आवमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार अघिल्लो आवमा नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आव २०७७/७८ मा सात अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा छ अर्ब १५ करोड ७७ लाख छ हजार तथा आव २०७५/७६ मा सात अर्ब ३६ करोड ९६ लाख ९५ हजार रुपैयाँको गलैँचा विभिन्न देशमा निर्यात भएको छ । 

आठ अर्बको अलैँची निर्यात

विभागका अनुसार गएकाे आवमा आठ अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ । देशको वैदेशिक व्यापारमा अलैँची निर्यातको मूख्य भूमिका छ । गएकाे आवमा आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ बराबरको अलैँची देशबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ थियो ।

विभागका अनुसार आव २०७७/७८ मा सात अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६/७७ मा दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार र आव २०७५/७६ मा दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटाली तथा जर्मनीलगायत देशमा अलैँची निर्यात हुने गरेको छ ।

कुकुर तथा बिरालाेको खानाको निर्यात बढ्दो

पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा बिरालाेको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै देशबाट १० अर्ब रुपैयाँको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ ।

गएकाे आवमा मात्रै तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको यस्ता वस्तु देशबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गएकाे आवमा दुई अर्ब ९६ करोड ७६ लाख रुपैयाँका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै २९ करोड ४२ लाख ३५ हजारको क्यानडा, तीन करोड ९३ लाख ५६ हजार रुपैयाँ बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ ।

नेपालले अघिल्लो आवमा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर तथा बिरालाेका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७/७८ मा एक अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा एक अर्ब २२ करोड ८३ लाख ५६ हजार र आव २०७५/७६ मा एक अर्ब पाँच करोड २८ लाख ७६ हजार रुपैयाँको यस्ता वस्तु देशबाट निर्यात भएको विवरणमा उल्लेख छ ।

पाँच वर्षमा तीन अर्बको अम्रिसो निर्यात

नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट तीन अर्ब ३३ करोड छ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ । गएकाे आवमा एक अर्ब ८८ लाख रुपैयाँको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मुख्य गन्तव्य भारत हो ।

विभागको विवरणअनुसार अघिल्लो आवमा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार, आव २०७६/७७ मा ५५ कराड ७४ लाख ७८ हजार र आव २०७५/७६ मा ४० करोड ५७ लाख ३९ हजार रुपैयाँको अम्रिसो देशबाट निर्यात भएको छ ।

एक वर्षमा ४४ करोडको यार्सागुम्बा निर्यात

विभागका अनुसार गएकाे आवमा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्सागुम्बाको निर्यात पछिल्ला पाँच वर्षयताकै उच्च हो ।

अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजार, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार र आव २०७५/७६ मा १७ करोड ९४ लाख आठ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने देशहरूमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका देश पर्छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया