टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

 साउन २६, २०८० शुक्रबार १३:५२:११ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीवार हिजाे प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।

टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गरेकाे याे चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ ।

निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनोट हुनुले सकारात्मक प्रभाव पार्ने बताए । 'यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ'सुब्बाले भने ।

निर्देशक सुब्बाले निर्देशनको शुरुआत गरेकाे पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजार पुगेको थियो । यसअघि सुब्बाद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो ।

चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेकाे चलचित्रमा जोस हेरमले छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लिले सङ्गीत भरेका छन् । 

अन्तिम अपडेट: भदौ २४, २०८०

तपाईको प्रतिक्रिया