ललिता निवास प्रकरणमा बयान दिन तयार छु : बाबुराम भट्टराई

 साउन २६, २०८० शुक्रबार १४:५५:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिन तयार रहेकाे बताउनुभएकाे छ ।

बुटवलमा आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको भन्दै आफू सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन’, उहाँले भन्नुभयो, ‘म बयान दिन म तयार छु ।’ 

अध्यक्ष भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने पनि बताउनुभभयाे । उहाँले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताउनुभयो ।

भट्टराईले भ्रष्टाचार निर्मूल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने जनाउँदै संरचनागत ढङ्गले जानुपर्ने बताउनुभयो । उहाँले देशको प्रमुख कार्यकारी (प्रधानमन्त्री) माथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताउनुभयो । संसदमा प्रमुख विपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उहाँको भनाइ छ ।

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण अभियान लिएर हिँडेका अध्यक्ष भट्टराईले संविधान जारीपछि माओवादी आन्दोलनको कार्यभार पूरा भएकाले आफू त्यसभन्दा पनि अघि बढेको बताउनुभयो । देशमा नयाँ र वैकल्पिक शक्तिको खाँचो औँल्याउँदै उहाँले त्यहीअनुसार नेसपा अघि बढेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया