प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई ओलीको चेतावनी

 साउन २७, २०८० शनिबार २०:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गर्नुभएको छ । 

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाइ थियो ।

उहाँले संसदको सबैभन्दा ठूलो दल कांग्रेस निरीह अवस्थामा रहेकोमा आफू छक्क परेको बताउनु भयो ।

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कांग्रेसलाई पुच्छरले हल्लाउने भूमिकामा बस्ने हो भन्दै प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरुले टिप्पणी समेत नगर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिट छ ऊसँग पार्लियामेन्टमा । अब यसको त मैले टिप्पणी गरिरहनु भएन । उहाँहरुले कसको पछाडि आफूलाई लगाउनुभएको हो, के को पछि लाग्नुभएको हो ? त्यो उहाँहरुले जान्ने कुरा हो । म केही पनि भन्दिन । मेरो कुनै कमेन्ट छैन । अचम्म लाग्छ । पछाडि पुच्छर चुप लागेर बसेको छ । अगाडि नेपाली कांग्रेस डोलायमान छ । त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ । त्यो उहाँहरुको मामिला हो । मेरो यसमा कुनै कमेन्ट छैन । तपाईँहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस् । मेरो शुभकामना छ । तपाईँहरुलाई मन लागुन्जेल । लागेन भने बेग्लै कुरा हो ।’

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो । प्रधानमन्त्री दाहालको पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उहाँले त्यस्ता कार्यमा सरकारले हौसिन नहुने पनि बताउनु भयो । अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफू विरुद्ध नबोल्न तर्साएको आरोप समेत लगाउनु भयो । 

उहाँले भन्नुभयो, ‘मैले अस्ति प्रधानमन्त्रीजीलाई भनेँ–अहिले यो पाकिस्तानी राजनीति, प्रतिशोधको राजनीति उहाँले शुरु गर्नुभएको छ । उहाँलाई आज मज्जा लागेको छ । तर यो राजनीति यहीँ अन्त्य हुँदैन । यो त यहाँ शुरु भयो । उहाँहरुले बुझ्नुपर्दछ, यो त शुरु भयो । यसको अन्त्य यहाँ हुँदैन ।’

ओलीले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकार गम्भीर नभएको जिकिरसमेत गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया