‘नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक’

 साउन २८, २०८० आइतबार २०:३४:३१ | रासस
unn.prixa.net

राष्ट्रिय सरोकार तथा समन्वय समिति

काठमाण्डाै – नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ ।

राष्ट्रियसभा अन्तर्गतकाे राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज आइतवारको बैठकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका जन्मिँदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ । विश्वमा एक सय बालिका जन्मिँदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविक रूपमा लिइन्छ ।

मधेस प्रदेशमा एक सय बालिका बराबर एक सय २२ र सुदूरपश्चिम प्रदेशमा एक सय १८ बालकको जन्म हुनुले ती प्रदेशमा अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार जन्मिँदा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी नेवीनलाल श्रेष्ठले बताउनुभयो ।

जनगणनाका बेला ठूलो सङ्ख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भएका कारण लैङ्गिक अनुपात तलमाथि हुन गएको अनुमान गरिएको छ । पालिकातर्फ विश्लेषण गर्दा ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक र बालिकाको सङ्ख्या उल्लेखनीय देखिएको समितिमा प्रस्तुत राष्ट्रिय जनगणनाले देखाएको जनसङ्ख्याको आकार, प्रकार र संरचनासम्बन्धी प्रस्तुतिमा समावेश छ ।

त्यस्तै सहरमा काम गर्ने उमेर समूहका युवाको जनसङ्ख्या बढी रहेको देखिएको छ । जनसङ्ख्याको वृद्धिदर मधेस र लुम्बिनी प्रदेशमा एक प्रतिशतभन्दा बढी छ भने १० वर्षमा मधेस र बाग्मती प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या थपिएको तथ्याङ्क प्रस्तुत गरियो । 

शून्यदेखि १४ वर्ष उमेर समूहको जनसङ्ख्या घट्नुले प्रजनन न्यून भएको देखाएको र १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्या वृद्धि भई ६२ प्रतिशत कायम रहनुले काम गर्न सक्ने उमेर समूहको बाहुल्यतालाई पुष्टि गरेको श्रेष्ठले बताउनुभयो । 

यसैबीच महिलाको नाममा रहेको घर वा जग्गा दुवै हुने परिवारको प्रतिशत २३ दशमलव आठ रहेको तथा महिला मूली भएका परिवार प्रतिशत ३१ दशमलव छ रहेको उल्लेख गरिएको छ । पछिल्लो जनगनणाअनुसार विगत १० वर्षको अवधिमा २७ लाख जनसङ्ख्या बढेको छ ।

वार्षिक जनसङ्ख्याको वृद्धिदर ९० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल अर्थात् शून्य दशमलव ९२ मा झरेको देखाइएको छ । तथापि पछिल्लो समय देशमा पुरुष र महिलाको जनसङ्ख्या अन्तरमा सुधार देखिएको छ । जनगणनाअनुसार पछिल्लो समय हिमालबाट–पहाड, पहाडबाट तराई र सहरमा बसाइँसराइ केन्द्रित हुने क्रम बढेको छ । जनसङ्ख्याको ५४ प्रतिशत बसोबास तराई मधेसमा हुने गरेको छ ।

देशको पछिल्लो जनगणनाअनुसार दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्या पुगेको छ । समग्रमा देशमा जन्मदर घटेको तथा औसत आयु बढेको उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • tekraj Pangeni

    Aug. 15, 2023, 7:21 a.m.

    जन गणना गर्दा पार्टी का झोले पठाइयेको थियो।घरमा प्राय बालबालिका मात्र हुने हुदा उसैलाई सोधेर गणना गरिएको थियो।मेरो घरमा ४ जना छौ,जनगणना मा २जना मात्र छ।यसरी गणना गरेर हुन्छ?

  •  0 Reply

तपाईको प्रतिक्रिया