कांग्रेसकाे निष्कर्ष : ‘सुन तस्करीकाे अनुसन्धान सीआईबीबाटै हुनुपर्छ’

 साउन २९, २०८० सोमबार १५:८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसले सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाटै हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आज साेमवार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निष्कर्ष निकालेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल नेपाली कांग्रेसकै केही नेताले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरिरहेको बेला कांग्रेसले आधिकारिक रूपमै छानबिन समिति गठन आवश्यक नभएको र सीआईबीले नै अनुसन्धान गर्ने जनाएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले तस्करी र भ्रष्टाचारजस्ता विषयको अन्त्य हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । ‘सुन तस्करी प्रकरणमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ’, लेखकले भन्नुभयो ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सीआईबीलाई नपत्याएर अर्को समिति गठन गर्ने हो भने कसई विश्वास गर्ने भनेर प्रश्न सोध्नुभएको थियो । थापाले भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने र जोसुकै व्यक्तिको नाम जोडिए पनि अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया