ललिता निवास प्रकरण : पूर्व मुख्यसचिव पौड्यालसँग बयान, पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग पनि लिने तयारी

 साउन ३०, २०८० मंगलबार ८:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको छ ।

सीआईबीले अस्ति आइतवार पौड्यालसँग बयान लिएको हो । सरकारी जग्गामा नक्कली मोही खडा गर्ने निर्णय प्रक्रियामा सामेल भएको आरोपमा अस्ति बेलुका कार्यालयमै बोलाएर बयान लिएको र आवश्यक परे फेरि बोलाउने सीआईबीले जनाएको छ ।

पौड्यालले बयानका क्रममा जग्गा हिनामिना गर्ने आफ्नो नियत र उद्देश्य नरहेको, तलबाट आएका फाइललाई मन्त्रिपरिषदमा पेस गर्ने र मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न मन्त्रालयलाई पठाउनेबाहेक आफू संलग्न नरहेको जवाफ दिनुभएको छ । उहाँले डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ असोज १८ को मन्त्रिपरिषद् बैठकमा समरजंग कम्पनीका नाममा भएको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लैजाने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि २०७६ मंसिर १५ मा पनि सीआईबीले चीनका लागि नेपाली राजदूत रहेकै बेला उहाँलाई यसबारे सोधपुछ गरेको थियो । सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईसँग पनि बयान लिने तयारी गरेको छ ।

सङ्गठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को कीर्तेसम्बन्धी महलका दफाअन्तर्गत उहाँहरुलाई बयानमा बोलाउन लागिएको हो । गएको असार १२ मा ललिता निवास जग्गा प्रकरणका केही आरोपितलाई पक्राउ गरेर अघि बढेको अनुसन्धानलाई सीआईबीले आउँदो भदौ पहिलो हप्ताभित्र पूरा गरिसक्नुपर्ने हुन्छ ।

सङ्गठित अपराधको कसुरमा आरोपित पक्राउ परेपछि अनुसन्धान गर्न प्रहरीलाई अधिकतम ६० दिनको समय हुन्छ । सर्वोच्च अदालतले साउन २१ मा निर्णायाधिकारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहितका २० जना व्यक्ति सीआईबीको हिरासतमा रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया