कोशी प्रदेशमा गठबन्धनको रणनीति : ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्री

 साउन ३१, २०८० बुधबार १२:३१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले यसअघि सभामुखबाट राजीनामा दिएका माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेपछि कोशी प्रदेश सभामुखविहीन छ ।

उपसभामुख सृजना दनुवारको राजीनामा आएमा ज्येष्ठ सदस्यका हैसियतमा मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका लागि गठबन्धनले रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।

असार २१ गते मुख्यमन्त्री बनेका कांग्रेस नेता थापा साउन ११ गते सर्वोच्चको आदेशबाट बर्खास्तीमा पर्नुभएको थियो । तर सभामुखलाई राजीनामा गराएर उहाँले फेरि साउन १६ गते मुख्यमन्त्रीको सपथ लिनुभएको थियो । त्यसबेला उहाँलाई कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सहित ४७ सांसदको समर्थन मिलेको थियो ।

मुख्यमन्त्री थापाले अर्को हप्ता विश्वासको मत लिने तयारी गर्नुभएको छ । संविधानअनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

सभामुख गौतम राजीनामा दिएर मन्त्रीमा नियुक्त भएपछि अब प्रदेशसभाको बैठकको अध्यक्षताको जिम्मा एमालेबाट उपसभामुख हुनुभएकी सिर्जना दनुवारले लिनुपर्छ ।

विश्वासको मत लिने दिन उपसभामुख दनुवार अनुपस्थित भएमा ज्येष्ठ सदस्यको हैसियतमा मण्डलले बैठक चलाउनुपर्ने थियो । यस्तो हुँदा मुख्यमन्त्री थापालाई ४६ मात्रै सांसदको समर्थन मिल्थ्यो । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।

यही अवस्था बुझेर सत्ता गठबन्धनले मण्डललाई मन्त्री बनाएको हो । तर मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने निश्चित भैसकेको छैन । एमालेले पनि यस्तै रणनीति अपनाउने हो भने उहाँलाई विश्वासको मत जुट्न गाह्रो हुन्छ।

मण्डल मन्त्री भएपछि अब प्रदेश सभामा ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की हुनुहुन्छ । मुख्यमन्त्री थापालाई विश्वासको मत पाउनबाट रोक्न एमालेले दनुवारलाई उपसभामुखबाट राजीनामा गराउन र ज्येष्ठ सदस्य कार्कीलाई बैठकमा अनुपस्थित गराउन सक्छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया