'मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार'

 साउन ३२, २०८० बिहीबार १३:२२:३१ | रासस
unn.prixa.net

तस्बिर : रासस

रुपन्देही - देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिव बिन्दु भुज । उमेरले करिब ६० कट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही खरिद गर्न पाउनु हुन्न । गाउँमा उर्दी जारी भएको छ 'भुजको परिवारलाई केही नदिनू, कोही नबोल्नू। ' 

शिवबिन्दुसँग बोल्ने गाउँलेलाई २५ हजार रुपैयाँ जरिबानासमेत तोकिएको छ । गाउँमा समान खरिद गर्न नपाएपछि उहाँ सलाई खरिद गर्नुपरे पनि नजिकैको बजार मझौली पुग्नुपर्छ । उहाँ अरुको घर जान पाउनु हुँदैन, अरु उहाँको घर आउँदैनन् । 

सामाजिक बहिष्करणमा पर्नुभएका शिवबिन्दुको दोष भनेको उहाँका भाइ पशुपति भुजले मुद्दा जित्नु हो । काठमाण्डाै बस्ने पशुपतिले सार्वजनिक जग्गा कब्जा गरी बसेका गाउँलेहरुविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालत र उच्च अदालतबाट मुद्दा जितेपछि उहाँका दाजु सामाजिक बहिष्करणमा पर्नु भएको हो । पशुपति पनि गाउँ छोडेर काठमाण्डाै बस्नु परेको छ। 

देवदह नगरपालिका–१२ ढोलबजवामा रहेको करिब तीन बिगाहा आठ कठ्ठा १२ धुर सार्वजनिक जग्गा गाउँलेहरुले दामासाहीले बाँडेका थिए । आठ नम्बर पर्तिको रुपमा रहेको सार्वजनिक जग्गा गौचरणको साथै मरेका घरपालुवाहरु फाल्ने स्थलको रुपमा रहेको थियो । ढोलबजवा गाउँभन्दा उत्तरतर्फको त्यस जग्गामा गाउँलेले कब्जा गरेपछि पशुपतिले रुपन्देही जिल्ला अदालतमा २७ जना गाउँलेविरुद्ध 'सार्वजनिक जग्गा चलन चलाइ पाउँ' भन्दै मुद्दा दर्ता गर्नुभयो । त्यहीअनुसार २०७७ माघ २९ गते जिल्ला अदालतले भुजको पक्षमा फैसला गर्दै सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको थियो । यसमा गाउँलेहरुले चित्त बुझाएनन् र पुनरावेदन गरे । पुनरावेदनमा पनि उच्च अदालत तुलसीपुर बुटवल इजलासले २०७९ कात्तिक २८ गते जिल्लाकै फैसलालाई सदर गरिदियो । 

फैसला गर्दै उच्च अदालतले चलन चलाइ सार्वजनिक रुपमा रहेको जग्गामा रहेका संरचनाहरु हटाउन आदेश दियो । अदालतले दिएको त्यही आदेश अहिले पशुपति भुजको परिवारलाई 'सामाजिक बहिष्करण' को कारण बनेको छ । आदेशकै कारण उहाँ गाउँमा जान सक्नुभएको छैन भने उहाँको परिवारलाई गाउँलेले बहिष्कार गरेका छन् । 'वडा कार्यालयमा चारकिल्ला लिन गएको थिएँ, मलाई कुटपिटको प्रयास गरियो,' भुजले भन्नुभयो 'सार्वजनिक जग्गा संरक्षण त पालिकाले नै गर्नुपर्ने हो तर उहाँहरु त अतिक्रमण गर्नेहरुको पक्षमा हुनुहुन्छ ।'

सार्वजनिकरुपमा चलन चलाइ दिने भन्दै रुपन्देही जिल्ला अदालतले जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालयलाई बोधार्थ दिँदै देवदह नगरपालिका–१२ लाई पत्राचार गरेको छ । तर अदालतको याे आदेश कार्यान्वयन गराउन यी तीनै निकायले चासो नदिएको भुजको आरोप छ । 'सार्वजनिक जग्गाको संरक्षण होस् भन्ने मेरो उद्देश्य हो, त्यही बमोजिम मुद्दा दायर गरेको हुँ', उहाँ भन्नुहुन्छ, 'तर अहिले त्यही विषयलाई लिएर मलाई र परिवारलाई ज्यान मार्ने धम्कीहरु आइरहेको छ ।' उहाँले आफ्नो परिवारको जिउधनको रक्षाका लागि सहयोग गरिदिन पनि अपिल गर्नुभएको छ । 

जग्गा कब्जा गर्ने गाउँलेहरुले पनि याे जग्गा सार्वजनिक पर्ति रहेको स्वीकार गरेका छन् । सशस्त्र द्वन्द्वको समयमा खाली जग्गा कब्जा हुनबाट जोगाउन गाउँलेले याे ठाउँमा झुपडी बनाएका थिए । अहिले त्याे ठाउँ पक्की घरहरु बनेका छन् । 'यत्रो लगानी गरिसकेका छौंँ, वडा कार्यालयलाई घरधुरीलगायत अन्य करहरु पनि तिरिरहेकै छौँ सरकारले कसरी घर भत्काउन भन्न सक्छ ?' स्थानीय रीताकुमारी कुँवरले प्रश्न गर्नुभयो, 'यहाँ प्रायजसाे हामी भूमिहीन छौँ अब हामी छाडेर कहाँ जाने ?' कब्जा गरेको भनिएको जग्गामा अहिले आफूहरुले लाखौँ खर्च गरी पक्की संरचना निर्माण गरेकाले जग्गा छोड्न नसक्ने अडान गाउँलेहरुको रहेको छ । गाउँलेहरुले एकै स्वरमा पशुपति भुजले दुःख दिने नियतले मुद्दा हालेको बताएका छन् । 

गाउँलेहरुको भनाइलाई नै वडा कार्यालयले समर्थन गरेको छ । रुपन्देही जिल्ला अदालतले वडा कार्यालयलाई घर टहरा भत्काइ सार्वजनिक जग्गा खाली गराउन आदेश दिए पनि वडाध्यक्षले त्याे आदेशको पालन गर्न नसक्ने बताउनुभएको छ । देवदह नगरपालिका–१२ का वडाध्यक्ष डेगबहादुर सारु मगरले  जग्गा खाली गराउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, 'उजुरी र फैसलामा जबरजस्ती कब्जा गरी बसेको भनिएको छ, तर जग्गा जबरजस्ती कब्जा गरेको नभइ तत्कालीन परिस्थिति अनुसार बाँडेको देखिन्छ ।'

आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने निकायले राजनीतिका कारण कब्जा भएको जग्गा पनि फुकाउन सकेको छैन । मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ मा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र पालिकालाई दिएको छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया