नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

 साउन ३२, २०८० बिहीबार १३:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । 

अहिलेलाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभीएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । त्यही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहे पनि त्यसलाई छिट्टै टुङ्गोमा पुर्‍याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिनुभयो ।

इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको छ । कुन आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । यसलाई निष्कर्षमा पुर्‍याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीका अनुसार तत्कालका लागि कति मात्रामा बङ्गलादेश बिजुली पठाउन लागियो भन्ने भन्दा पनि बाटो खुल्यो भन्ने विषय महत्त्वपूर्ण हो ।

यसले नेपालको बिजुली तेस्रो देश पनि निर्यात हुन थाल्यो भन्ने सन्देश प्रवाह हुने र लगानी भित्र्याउन सहज हुने उहाँको भनाइ छ । अध्यक्ष कार्कीले निजी क्षेत्रलाई पनि बिजुली निर्यातका लागि अनुमति दिन आग्रह गर्नुभयो । ‘हामीले अनुमति पाएको खण्डमा भारत र बङ्गलादेशका निजी क्षेत्रसँग छलफल गरेर थप निर्यातका लागि मार्ग प्रशस्त गर्न सक्छौँ’, उहाँले भन्नुभयो, ‘यसमा सरकार र निजी क्षेत्र दुवैको साझा प्रयास हुनु जरुरी छ । हामी त्यसका लागि तयार छौँ ।’

सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । अहिले भारतले बङ्गलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बङ्गलादेशले नेपालका केही महत्त्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ । गएको जेठ २ गते बङ्गलादेशमा सम्पन्न नेपाल–बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । त्यो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो । 

त्यही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटीपीसी विद्युत् व्यापार निगम, भारत र बङ्गलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । त्यही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यक पर्ने बङ्गलादेशको नियम रहेको छ । त्यो समितिमा रहने सदस्यको नामसमेत प्रस्ताव भइसकेको बङ्गलादेशले जानकारी गराइसकेको छ । 

नेपालका तर्फबाट यही भदौको दोस्रो हप्तासम्म आवश्यक सबै प्रक्रिया टुङ्गो लगाउन प्रस्ताव गरिएको छ । सबै प्रक्रिया मिलाएर निर्यात शुरु गरिहाल्ने योजना तय गरिएको छ । ‘वर्षायामको बिजुली नै ‘टोकन’का रूपमा पठाउन लागिएको हो । हिउँद लागेपछि त्यसको कुनै सम्भावना नै रहन्न । त्यही भएर हामीले आवश्यक तयारी छिटोछिटो गरिरहेका छौँ’, यस प्रक्रियामा सहभागी ऊर्जा मन्त्रालयका एक सहसचिवले भने, ‘दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले गरेको निर्णय क्रमशः कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।’

नेपाल र भारतका ऊर्जा सचिवबीच गएको फागुनमा सम्पन्न १० औँ बैठकमा बङ्गलादेश बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो । तत्कालका लागि ५० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्न दिन भारतीय पक्ष सहमत भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणमा समेत यस विषयमा महत्त्वपूर्ण सहमति भएको छ । आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्नेदेखि नेपालको बिजुली बङ्गलादेश निर्यातका लागिसमेत भारत सहमत भएको थियो । 

कुल छ सय ८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माणका लागि आवश्यक पूर्वतयारीको कामसमेत भइरहेको छ । गएको जेठमा सम्पन्न नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले छ महिनाभित्र आयोजना विकासका लागि संयुक्त उपक्रम तयार पार्ने सहमति भएको थियो । बङ्गलादेशले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली खरिद गर्ने तयारी गरेको छ । यद्यपि यो आयोजनाको प्रवर्धक ग्रान्धी माल्ल्किाजुर्न राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न नसक्दा अगाडि बढ्न सकेको छैन । 

लगानी बोर्डको प्रस्तावमा सरकारले आयोजनाको म्याद अन्तिम पटक दुई वर्षका लागि थप गरे पनि अहिलेसम्म कुनै प्रगति हुनसकेको छैन । नेपाल र बङ्गलादेशबीच भारतीय भूमि प्रयोग गरेर ‘डेडिकेटेड’ रूपमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा समेत सहमति भएको छ । नेपालको प्राधिकरण र बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच सहमति गरेर छिट्टै बिजुली निर्यातका लागि आवश्यक निर्णय गर्ने तयारी गरिएको छ ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया